काठमाडौँ।
गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब ६:५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको पुरानो चितवन मेडिकल कलेज र नौ जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको उपचारसम्बन्धी विवरण पनि प्रहरीले संकलन गरेको छ।
को–को घाइते भए?
लु.२ ख ६४५७ नम्बरको बसमा सवार घाइते:
कालिकोटको तिलागुफा नगरपालिका–३ का करिब ३६ वर्षीय धनमान हमाल — पुरानो मेडिकल कलेजमा उपचाररत।
गैंडाकोट नगरपालिका–५ की करिब ६० वर्षीया लिला थापा — पुरानो मेडिकल कलेजमा उपचाररत।
लु.२ ख ६०३६ नम्बरको बसमा सवार घाइते:
नयाँ चितवन मेडिकल कलेजमा उपचाररत:
बस चालक, भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ
गैंडाकोट नगरपालिका–७ की १२ वर्षीया आत्रिया पौडेल
गैंडाकोट नगरपालिका–१५ की ४० वर्षीया माधवा ज्ञवाली
गोरखाका ३५ वर्षीय शंकर बयलकोटी
गैंडाकोट नगरपालिका–२ की ३८ वर्षीया सीता ज्ञवाली
सोही स्थानकी ११ वर्षीया जस्विन ज्ञवाली
चितवनका १० वर्षीया दिभा रानाभाट
पुरानो चितवन मेडिकल कलेजमा उपचाररत:
बाराको कलैया उपमहानगरपालिका–९ का ६० वर्षीय मोहन भैया साह
भरतपुर महानगरपालिका–२ की ३१ वर्षीया निशा तिवारी
निशा तिवारीका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट
दाङका करिब ५५ वर्षीय निमलाल खड्का
निमलाल खड्काकी श्रीमती करिब ५५ वर्षीया अमृता खड्का
रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ
मनोज गुरुङकी श्रीमती ५१ वर्षीया हुमा गुरुङ
गैंडाकोट नगरपालिका–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट
गैंडाकोट नगरपालिका–६ की करिब ४३ वर्षीया मिरा आचार्य
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। दुर्घटनामा संलग्न दुवै बस र घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया