किर्गिस्तानमा घुमन्ते समुदायको परम्परा, संस्कृति र प्राचीन खेलकुदलाई विश्वमाझ प्रस्तुत गर्दै छैटौं विश्व घुमन्ते खेलकुद महोत्सव सम्पन्न भएको छ। अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म चलेको प्रतियोगिताको समापन इस्सिक–कुल तालको किनारमा रहेको चोल्पोन–आटाको विशाल घोडा दौड मैदानमा भव्य समारोहसहित गरिएको हो।
यस वर्षको प्रतियोगितामा १०९ देशका ३ हजारभन्दा बढी खेलाडी सहभागी भएका थिए। उनीहरूले घोडचढी, धनुर्विद्या, कुस्ती तथा मध्य एसियाली घुमन्ते समुदायसँग सम्बन्धित विभिन्न परम्परागत खेलका ४२ विधामा प्रतिस्पर्धा गरेका थिए। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विश्व घुमन्ते खेलकुद महोत्सवका रूपमा आयोजकहरूले बताएका छन्।
समापनअघि दर्शकले लामो समयदेखि प्रतीक्षा गरेको कोकपार र कोकबोरु घोडचढी खेलको फाइनलसमेत आयोजना गरिएको थियो। कोकपार कजाख परम्परासँग र कोकबोरु किर्गिज परम्परासँग जोडिएको लोकप्रिय खेल हो। कोकपारमा कजाखस्तानले स्वर्ण जित्दा रुसले उज्बेकिस्तानलाई ५–४ ले पराजित गर्दै कांस्य पदक हात पारेको थियो।
खेलकुदसँगै महोत्सवले घुमन्ते सभ्यताको जीवनशैली, हस्तकला, संगीत, खानपान र परम्परागत पोसाकलाई पनि प्राथमिकता दिएको थियो। किर्गिस्तानका विभिन्न क्षेत्रले परम्परागत ‘युर्ट’ अर्थात् घुमन्ते समुदायका पालसहित सांस्कृतिक गाउँ निर्माण गरेका थिए। त्यहाँ कालीगढी, गलैंचा बुन्ने कला, परम्परागत खाना तथा लोकसंगीत प्रदर्शन गरिएको थियो।
पदक तालिकामा कजाखस्तान र आयोजक किर्गिस्तानबीच कडा प्रतिस्पर्धा देखिएको थियो। प्रारम्भिक गणनामा किर्गिस्तान सबैभन्दा सफल देखिए पनि अन्तिम गणनापछि कजाखस्तान ७२ पदकसहित शीर्ष स्थानमा रहेको र किर्गिस्तान ७७ पदकसहित दोस्रो स्थानमा रहेको विवरण सार्वजनिक गरिएको छ।
विश्व घुमन्ते खेलकुदको उद्देश्य परम्परागत खेललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुका साथै घुमन्ते सभ्यताको सांस्कृतिक सम्पदा संरक्षण गर्नु हो। यस वर्षको महोत्सवमा खेलकुदसँगै सांस्कृतिक तथा वैज्ञानिक कार्यक्रम पनि आयोजना गरिएको थियो।
स्रोत: युरोन्युज












प्रतिक्रिया