लमजुङ।
लमजुङमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा कार्यदलका लागि समुदायमा आधारित विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालले आयोजना गरेको तालिममा सामुदायिक विपद् व्यवस्थापन समिति तथा कार्यदलका गरी ३२ जनाको सहभागिता रहेको थियो ।
तालिम अवधिभर विपद् व्यवस्थापन सम्बन्धी विज्ञ प्रशिक्षक कृष्णप्रसाद बसौलले विपद्को जोखिम पहिचान, विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद्का समयमा अपनाउनुपर्ने सावधानी, समुदायस्तरमा गरिने खोज तथा उद्धार, आपत्कालीन प्रतिकार्य र विपद्पछि गरिने पुनःस्थापना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर लमजुङका प्रहरी निरीक्षक झपिन्द्र बानियाँको नेतृत्वमा रहेको टोलीले विपद्का समयमा अपनाउनुपर्ने खोज तथा उद्धारका व्यावहारिक विधि, प्राथमिक उपचार, घाइतेको उद्धार तथा सुरक्षित स्थानान्तरणलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराएको थियो ।

साथै, घरमा रहेको ग्यास सिलिन्डरमा आगलागी भएमा अपनाउनुपर्ने सावधानी तथा नियन्त्रणका उपाय र बाटोघाटोमा व्यक्ति लडेर घाइते अवस्थामा फेला परेमा तत्काल गर्नुपर्ने प्राथमिक उपचारका विषयमा समेत व्यावहारिक अभ्यास गराइएको थियो ।
तालिममा सहभागीहरुलाई विपद् जुनसुकै बेला आउन सक्ने भएकाले समुदायस्तरबाटै पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने, स्थानीय स्रोत–साधनको पहिचान तथा परिचालन गर्नुपर्ने र विपद्का समयमा सम्बन्धित निकायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने विषयमा जानकारी गराइएको थियो ।
विपद् व्यवस्थापन समिति तथा कार्यदललाई समुदायको जोखिमअनुसार पूर्वसूचना प्रणालीको प्रयोग, आपत्कालीन योजना निर्माण, उद्धार तथा राहत व्यवस्थापन र जोखिममा रहेका नागरिकको पहिचान गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिमले समुदायस्तरमा विपद् आउनुअघि नै आवश्यक तयारी गर्ने, विपद्का समयमा छिटो तथा प्रभावकारी प्रतिकार्य गर्ने र विपद्पछिको पुनःस्थापनामा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।












प्रतिक्रिया