काठमाडौं।
काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७ः४५ बजे बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस चोरी भएको थियो ।
माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको उक्त गाडी फेला पारेको थियो ।
त्यसैगरी, मंसिर ५ गते बिहान १०ः३० बजे काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।
प्रहरीले उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।








तपाईंको विचार लेख्नुहोस्