जकार्ता ।
इन्डोनेसियाको माउन्ट अनाक क्राकाटोआ ज्वालामुखीबाट निरन्तर खरानी र धुवाँ निस्किएपछि जनजीवनसँगै हवाई यातायातसमेत प्रभावित भएको छ। ज्वालामुखीबाट फैलिएको खरानीका कारण सोमबार बिहान राजधानी जकार्ताका दुई प्रमुख विमानस्थलसहित ७ विमानस्थल बन्द गरिएका छन्।
ज्वालामुखीबाट निस्किएको खरानी करिब ५० हजार फिटसम्मको उचाइमा पुगेको र हावाको दिशाअनुसार विभिन्न क्षेत्रमा फैलिँदा विमानको इन्जिनमा जोखिम बढेको अधिकारीहरूले बताएका छन्। यही कारण उड्डयन सुरक्षालाई प्राथमिकता दिँदै विमानस्थल सञ्चालन अस्थायी रूपमा रोकिएको हो।
विस्फोटका कारण सोमबारसम्म २ हजार ३०० भन्दा बढी उडान प्रभावित भएको र करिब २ लाख ७० हजार यात्रु प्रभावित भएको इन्डोनेसियाली अधिकारीहरूले बताएका छन्। जकार्ताको प्रमुख सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा सोमबार साँझसम्म बन्द राख्ने निर्णय गरिएको थियो।
रातको समयमा ज्वालामुखीबाट निस्किएको तातो लाभा र आगोको चमकका कारण आसपासको आकाश राताम्मे देखिएको थियो। ज्वालामुखीको खरानी बस्तीहरूमा समेत पुगेपछि स्थानीयवासी घर, सडक तथा धार्मिकस्थलका भित्तामा जमेको खरानी सफा गर्न बाध्य भएका छन्।
खरानीका कारण आँखा तथा श्वासप्रश्वासमा समस्या हुन सक्ने भन्दै स्थानीय प्रशासनले बाहिर निस्कँदा मास्क प्रयोग गर्न र ज्वालामुखी आसपासबाट टाढा रहन आग्रह गरेको छ। केही प्रभावित क्षेत्रमा विद्यालयको पठनपाठनसमेत अनलाइन माध्यममा सारिएको छ।
अनाक क्राकाटोआ जाभा र सुमात्रा द्वीपबीचको सुन्दा जलडमरूमध्यमा रहेको सक्रिय ज्वालामुखी हो। यसको सन् २०१८ को विस्फोटबाट आएको सुनामीमा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यसैले पछिल्लो गतिविधिलाई इन्डोनेसियाली अधिकारीहरूले नजिकबाट निगरानी गरिरहेका छन्।
ज्वालामुखीको गतिविधि केही कमजोर भए पनि खरानी उत्सर्जन र छिटपुट गतिविधि जारी रहेकाले विमानस्थल सञ्चालन पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।












प्रतिक्रिया