विपद्को जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको अपिल


काठमाडौं।

प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले विपद्को जोखिम अझै कायमै रहेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार सार्वजनिक अपिल जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा संकटको अवस्था आएमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका हुन्।

उनका अनुसार असोज ८ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा २१ जनाको मृत्यु, पाँच जना घाइते र पाँच जना बेपत्ता भएका छन्। मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले त्यसबारे विवरण संकलन भइरहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढी, पहिरो, डुबान र चट्याङलगायतका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन्। ती घटनाबाट सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ।

विपद्बाट प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्री शाहले बताएका छन्। बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।

बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको उनले बताएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडकखण्ड पनि बाढी तथा पहिरोबाट प्रभावित भएका छन्।

त्यसैगरी बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा गरी १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। प्रसारण लाइनका टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने जोखिमका कारण ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमता भएका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा रोकिएको उनले बताएका छन्।

महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ। सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा समेत यातायात रोकिएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढी तथा हावाहुरीका कारण किसानका धानबाली, तरकारीलगायत कृषि उपजमा ठूलो क्षति पुगेको पनि उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेमाथि सरकारले निगरानी राखिरहेको बताएका छन्। संकटका बेला भ्रामक प्रचार फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।

‘हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,’ प्रधानमन्त्री शाहले अपिलमा भनेका छन्।