अविरल वर्षाबाट २१ जनाको मृत्यु, ५ जना बेपत्ता

७४७ परिवार प्रभावित, करिब २ हजार विस्थापित


काठमाडौं।

असोज ८ गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना बढ्दा २१ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाजन्य विपद्बाट ५ जना घाइते भएका छन् भने ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्राधिकरणले आइतबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी, पहिरो र अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति भएको जनाएको हो ।

प्राधिकरणका अनुसार हालसम्म बाढीका ५३, पहिरोका २५६ र अविरल वर्षाका ११७ गरी ४२६ वटा विपद्का घटना अभिलेख भएका छन् । बाढीबाट ४ जनाको मृत्यु भएको छ भने पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट ३५० परिवार, पहिरोबाट १४७ परिवार र अविरल वर्षाबाट २५० परिवार प्रभावित भएका छन् । बाढी र पहिरोका कारण घर पूर्ण तथा आंशिक क्षति भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।

७७ वटै जिल्लामा उच्च सतर्कता

नेपाल मौसम विज्ञान विभागबाट सम्भावित भारी वर्षाको पूर्वानुमान बुलेटिन जारी भएपछि प्राधिकरणले असोज ८ गतेदेखि नै पूर्वतयारी तथा प्रतिकार्यका लागि सक्रियता बढाएको जनाएको छ । प्राधिकरणले दिनमा तीन पटकसम्म पूर्वसूचना तथा सतर्कतासम्बन्धी सूचना प्रवाह गरेको थियो ।

केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक दैनिक सञ्चालन गरी वर्षाको अवस्था, सम्भावित जोखिम र आवश्यक प्रतिकार्यबारे समीक्षा गरिएको थियो । बैठकबाट आवश्यक निर्णय तत्काल सम्बन्धित निकाय र सरोकारवालालाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।

जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहबाट सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बिदासमेत गरिएको थियो ।

प्राधिकरणको कमान्ड पोस्टबाट लगातार ७६ घण्टा मौसम अवस्थाको अनुगमन, सञ्चार तथा समन्वय गरिएको थियो । सो अवधिमा प्रतिकार्यमा अग्रपंक्तिमा खटिने उद्धारकर्मीलाई ५ हजारभन्दा बढी एसएमएस पठाइएको थियो ।

त्यस्तै, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानका बासिन्दालाई सचेत गराउन ८ लाख १४ हजारभन्दा बढी एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ ।

पर्यटकलाई पनि उच्च सतर्कता

प्राधिकरणले ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । हिमाल आरोहण तथा पदयात्रामा गएका पर्यटकलाई लक्षित गरी नेपाली र अंग्रेजी दुवै भाषामा सतर्कता सूचना जारी गरिएको थियो ।

जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा आउन र सुरक्षित स्थानमा रहेका पर्यटकलाई सोही स्थानमा रहन अनुरोध गरिएको थियो । उक्त अवधिमा देशभर करिब ५ हजार पर्यटक तथा पदयात्री रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

हिमाल आरोहण तथा उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकलाई मौसम सुधार नभएसम्म अनावश्यक यात्रा नगर्न अनुरोध गर्दै नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायसँगको समन्वयमा व्यापक सूचना प्रसार गरिएको थियो ।

हेलिकोप्टरबाट उद्धार

विपद् प्रतिकार्यका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको प्राधिकरणले जनाएको छ । बाढी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाका गरी करिब २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार गरिएका मानिसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ । जाजरकोट, म्याग्दी र बागलुङलगायत जिल्लामा हेलिकोप्टरमार्फत बाढी तथा पहिरोमा फसेका व्यक्तिको उद्धारगरिएको प्राधिकरणले जनाएको छ ।

१८६ स्थानमा १ सय मिलिमिटरभन्दा बढी वर्षा

प्राधिकरणका अनुसार पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १ सय मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड भएको छ ।

सबैभन्दा बढी वर्षा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर रेकर्ड भएको छ । त्यसपछि कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको प्राधिकरणले जनाएको छ ।

असोज ५ देखि नै पूर्वसूचना र प्रतिकार्य

प्राधिकरणका अनुसार असोज ५ गते राति उच्च सतर्कताका लागि प्रेस वक्तव्य जारी गरिएको थियो । असोज ६ गते सरोकारवाला निकायसँग सम्पर्क गरी पूर्वतयारीमा लाग्न निर्देशन दिइएको थियो ।

असोज ७ गते गृहसचिव केदारनाथ शर्माको आतिथ्यतामा बसेको केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले ७७ वटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टमार्फत वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई पुर्‍याउनुपर्ने सूचना तथा सवारी आवागमन बन्दलगायतका विषयमा आवश्यक निर्णय गरेको थियो ।

असोज ८ गतेदेखि प्राधिकरणको सिचुएसन रुमबाट मौसम अवस्थाको निरन्तर अनुगमन, सञ्चार तथा समन्वय भइरहेको थियो । प्राधिकरणको प्रतिकार्य शाखा प्रमुखको नेतृत्वमा प्राविधिक तथा सुरक्षा संयन्त्रसहितको टोली सिचुएसन रुममै बसेर वर्षा तथा बाढीको अनुगमन, समन्वय तथा सहजीकरणमा खटिएको थियो।

असोज ९ गते भारी वर्षाका कारण जोखिम देखिएका सडकखण्डमा सवारी आवागमन बन्द गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई निर्देशन दिइएको थियो । सोही दिन राति लगातार वर्षाको अवस्थाबारे निरन्तर निगरानी तथा समन्वय गरिएको थियो ।

असोज १० गते बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी तथा अति भारी वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता अपनाउन, सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न/गराउन तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा लैजान निर्देशन दिएको थियो ।

असोज ११ गते बसेको बैठकले असोज ८ गतेदेखि भइरहेको अविरल वर्षाका कारण भएका विपद्का घटना तथा क्षतिको समीक्षा गर्दै सम्बन्धित जिल्लाबाट थप तथ्यांक तथा विवरण संकलन गर्ने निर्णय गरेको छ । जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा हेलिकोप्टरमार्फत उद्धार कार्यलाई थप सहजीकरण गर्ने निर्णयसमेत भएको प्राधिकरणले जनाएको छ ।