काठमाडौँ।
दोस्रो काठमाडौँ–१० वडा अध्यक्ष कप राष्ट्रिय खुला र्यापिड चेस प्रतियोगिताको उपाधि खोटाङका धिरेन राईले जितेका छन्।
स्विस लिग प्रणालीमा नौ चरणमा सञ्चालन भएको प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अंक जोड्दै उपाधि हात पारे। झापाका ज्वाला लिम्बु ८ अंकसहित दोस्रो तथा मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अंकसहित तेस्रो भए। समान ७ दशमलव ५ अंक जोडेका भक्तपुरका निकेन कुसाथा चौथो स्थानमा रहे।
त्यसैगरी रौतहटका सुमन लामा पाँचौँ र राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ भए। ७ अंक जोडेका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाशचन्द्र नेपाल क्रमशः शीर्ष १० भित्र रहे।
काठमाडौँ महानगरपालिका–१० को आयोजनामा नयाँ बानेश्वरमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २२० खेलाडीको सहभागिता थियो।
प्रतियोगिताका विजेता धिरेनले २६ हजार २५० रुपैयाँ तथा उपविजेता ज्वाला लिम्बुले २२ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे। तेस्रो हुने क्षितिज भण्डारीले १८ हजार तथा चौथो हुने निकेन कुसाथाले ११ हजार २५० रुपैयाँ पाए। पाँचौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही ७ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे।
विजेता खेलाडीलाई आयोजक वडा–१० का अध्यक्ष रामकुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्रकुमार बस्नेतलगायतले पुरस्कार प्रदान गरे।
पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिता निर्देशक बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। दोलखा घर भई काठमाडौँमा बसोबास गर्दै आएका बस्नेत लामो समयदेखि नेपाली चेस खेलको विकासमा सक्रिय रहँदै आएका छन्।
काठमाडौँ महानगरपालिका–१० को आयोजनामा भएको प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो।











प्रतिक्रिया