धादिङ ।
अविरल वर्षासँगै पहिरो खस्दा धादिङका मुख्य राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधन रोकिएका छन्।
बेनिघाटरोराङ गाउँपालिका–१०, हुग्दीखोला नजिक डाँडाबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण रातिदेखि सवारी आवागमन रोकिएको छ। सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको छ।
गजुरी गाउँपालिका–२ को परेवा भीरमा पुनः पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। कमेरेभीर, बाङ्गे, चालिसे, परेवा भीर र कृष्णभीरलगायत आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक जोखिमपूर्ण बनेको छ।

केही स्थानमा दिउँसो पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि लगातार वर्षाका कारण सडकमा पुनः पहिरो खस्ने क्रम जारी छ। यसले काठमाडौं जाने–आउने सवारी साधन र यात्रुलाई सास्ती भएको छ।
धुनिबेँसी नगरपालिका–९ स्थित सुरुङमार्ग नजिक धादिङतर्फ पहिरो खसेपछि त्रिभुवन राजपथसमेत अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौं जाने र आउने दुवैतर्फको यातायात प्रभावित बनेकोमा पहिरो पन्छाएपछि अहिले एकतर्फी सञ्चालन भइरहेको छ।
नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडामा पनि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो। जेसीबी परिचालन गरी पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। टायलघर क्षेत्रमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ।
वैकल्पिक मास्टार–आदमटार–परेवाटार सडकखण्डको आदमखोलामा सुमो फसेपछि वैकल्पिक मार्गसमेत जोखिमपूर्ण बनेको छ। लगातारको वर्षा र पहिरोका कारण धादिङ हुँदै काठमाडौं तथा बाहिरी जिल्लातर्फ जाने सवारी साधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।
पृथ्वी राजमार्गमा यातायात पुर्ण रुपमा बन्द भएकाे छ । एकतर्फि संचालनमा अाएकाे यातायात साँझपखकाे पहिराेले राेकिएपछि सवारी साधन लामाे जाम लागेकाे छ ।











प्रतिक्रिया