बालेनलाई गगनको सुझाव– राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित नेपालको मुद्दा उठाउनुस्


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको आगामी महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको आसन्न विदेश भ्रमणलाई औपचारिकतामा मात्र सीमित नगरी देशका महत्वपूर्ण मुद्दा प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताएका हुन्।

उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या र क्षतिलाई विश्व समुदायसमक्ष सशक्त रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। भोटेकोशीमा आएको बाढीलगायत प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले न्यून हरितग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनबाट ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई वैज्ञानिक तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमाझ लैजानुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले महासभाको तयारीमा आफ्नै सचिवालयमा मात्र निर्भर नहुन आग्रह गरे। उनले विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गरी नेपालको प्रस्तुति तयार गर्नुपर्ने बताए। नेपालभित्र तथा विदेशमा रहेका दक्ष जनशक्तिको समेत उपयोग गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षलाई प्रभावकारी बनाउन सकिने उनले उल्लेख गरे।

थापाले यसअघि नेपालका विभिन्न सरकार तथा प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र निर्वाह गरेका भूमिकाको अध्ययन गरेर त्यसलाई थप प्रभावकारी ढंगले अघि बढाउनुपर्ने सुझाव दिए।

उनले भने, “हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ।”

नेपालले जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीको विषयसँगै अनुदानमा आधारित जलवायु वित्तका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा लबिङ गर्नुपर्ने उनको भनाइ छ।

थापाले विगतमा नेपाली प्रधानमन्त्रीहरूले महासभामा हिमालदेखि महासागरसम्मका विषय उठाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाइएका ‘क्लाइमेट जस्टिस’ का एजेण्डालाई निरन्तरता दिनुपर्ने बताए।

प्रधानमन्त्री शाहको महासभा सहभागितालाई केवल ‘ग्राण्ड शो’ का रूपमा नलिई देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।

सही तयारी, वैज्ञानिक तथ्य र विज्ञहरूको सुझावका आधारमा नेपालको धारणा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय स्तरमा देशका मुद्दालाई थप स्थापित गर्न सकिने सभापति थापाको भनाइ छ।