पल्सर स्पोर्ट्स अवार्ड २०८२ : एरिकाको ह्याट्रिक, चन्द्र वर्ष उत्कृष्ट पुरुष खेलाडी

0
Shares

काठमाडौं ।

हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको इतिहासमा करातेकी एरिका गुरूङले अवार्डमा ह्याट्रिक गरेकी छन् ।

एरिकाले यसपटक पनि वर्षको महिला खेलाडी विधामा उत्कृष्ट हुँदैं अवार्ड जितेकी हुन् । उनले पुरस्कारको रूपमा पल्सर मोटरसाइकल प्राप्त गरिन् ।

एरिकाले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका फुटबलकी साबित्रा भण्डारी, करातेकी सानुमाया थिङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र करातेकी सबिना श्रेष्ठलाई पछि पारेकी हुन् । अघिल्ला दुई संस्करण २०८० र २०८१ को महिला वर्ष खेलाडीमा उनी नै उत्कृष्ट भएकी थिइन् ।
एरिकाले वर्ष २०८२ मा टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग रजत पदक, मोरक्कोमा सम्पन्न कराते वान प्रिमियर लिगमा कांस्य पदक, चीनमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् । नेपाली करातेमा एकक्षत्र राज गरेकी एरिकालाई २० औं एसियाली खेलकुदको स्वर्ण पदकको दाबेदारको रूपमा हेरिएको छ ।

यस्तै, वर्ष पुरुष खेलाडी विधामा बक्सिङका चन्द्र थापाले अवार्ड जिते । उनले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथलेटिक्सका सोमबहादुर कुमाल, गल्फका सदभाव आचार्य र करातेका प्रदीप बैजाली मगरलाई पछि पारेका हुन् । उनले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे । दीपेन्द्र गत संस्करणमा उत्कृष्ट भएका थिए ।

चन्द्रले वर्ष २०८२ मा दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कास्य पदक जितेका थिए । योसँगैं चन्द्र विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली बक्सर बने । साथै उनले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेका थिए । यस्तै भुटानमा भएको फोर नेसन्स बक्सिङमा रजत पदक जित्दा उनले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले हराएका थिए ।

पिपल्स च्वाइसमा भलिबलकी मिना
२३ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०८२ अन्तर्गत मतका आधारमा हुने पिपल्स च्वाइसको अवार्ड भलिबलकी मिना सुनारले जितिन् । मतदानमा खसेको कुल मतको २९.०४ प्रतिशत मत प्राप्त गर्दै मिना विजेता बन्न सफल भइन् । उनले पनि पल्सर बाइक प्राप्त गरिन् ।
सो विधातर्फ मिक्सड मार्सल आर्टका रविन्द्र ढाँट २४.५३ प्रतिशत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । यस्तै, करातेकी सानुमाया थिङले १८.४८ प्रतिशत, फुटबलकी पुजा रानाले १४.७५ प्रतिशत र क्रिकेटका शेर मल्लले १३.२५ प्रतिशत मत प्राप्त गरे ।
शाहीद्वारा पुरस्कार रकम बाढी पीडितलाई प्रदान
ब्याडमिन्टनका लिजेन्ड कुमार मोहनबहादुर शाही लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । अवार्ड ग्रहण गरेपछि बुवा र श्रीमतीलाई यो सफलताका श्रेय दिंदै ८२ वर्षीय शाही भावुक बने । उनले प्राप्त पुरस्कार रकम (१ लाख) भोटेकोशी नदीमा आएको बाढीको राहतमा प्रदान गर्ने घोषणा गरेका छन् ।

शाही ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । चीनमा सन् १९७२ मा भएको आमन्त्रण ब्याडमिन्टन प्रतियोगितामा विश्व नम्बर एक खेलाडी ली लाई पराजित गर्नु उनको करियरको स्मरणीय प्रदर्शन हो ।

अन्य पुरस्कार
अन्य विधाको पुरस्कारअन्तर्गत् प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । श्रेष्ठले मनोनयनमा परेका बक्सिङका दीपक महर्जन, करातेका मन्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्रीलाई पछि पारेका हुन् । करातेकै मनिषाकुमारी बोहरा वर्ष उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनीहरूले पल्सर बाइक प्राप्त गरे ।

यस्तै, दृष्टिविहिन महिला क्रिकेट खेलाडी सुष्मा तामाङले पारा एथलिट अफ दी इयरको अवार्ड प्राप्त गरेकी छन् । यसैगरी स्पेसल अवार्ड करातेका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई प्रदान गरिएको छ । उनीहरूले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।