गायक योगेश्वर अमात्यद्वारा बाढी प्रभावितलाई १ करोड ८ लाख सहयोग


लोकप्रिय गायक योगश्वर अमात्यले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेका छन्।

हाल बेलायतमा रहेका योगेश्वरले धर्मपत्नी मंगला अमात्यसहित सो करम सहयोग गरेका हुन्। अमात्य दम्पतीले आफ्नो प्रतिनिधि अरुण श्रेष्ठमार्फत उक्त रकम हस्तान्तरण गरेका हुन्। श्रेष्ठले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

अमात्यले यसअघि ललितपुरको बुङमतीस्थित कार्यविनायक मन्दिरका लागि १ सय ८ तोला सुन बराबरको सहयोग गरेका थिए। मन्दिरको सुनको छाना र गजुर निर्माणका लागि उनले उक्त सहयोग गरेका थिए। योगेश्वरले प्रचारबाजी बिना नै थुप्रै सामाजिक र परोपकारी कार्यमा आफ्नो व्यक्तिगत तर्फबाट योगदान दिँदै आएका छन्।

संगीतमार्फत माया प्रेम, देश, समाज र संस्कृतिको आवाज उठाउँदै आएका गायक अमात्य लामो समयदेखि आफ्नो सांगीतिक परिचयसँगै सामाजिक तथा परोपकारी कामका कारण चर्चामा छन्। लोकप्रिय गीतका गायकदेखि सम्पदा संरक्षण र विपद्का बेला सहयोग गर्ने अभियन्तासम्मको उनको भूमिकाले उनलाई नेपाली सांगीतिक क्षेत्रभन्दा बाहिर पनि फरक पहिचान दिएको छ।