फुटबलको क्यानभासमा आफ्नो जीवनको सबैभन्दा सुन्दर र मर्मस्पर्शी चित्र कोरेपछि, अर्जेन्टिनी फुटबलका महानायक लिओनेल मेसीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबलको यात्राबाट बिसौनी लिएका छन् । ३९ वर्षको उमेरमा नीलो र सेतो लामो–लामो धर्सा भएको जर्सीमा सजिएर मैदान पस्ने उनको अध्यायले अब सदाका लागि विश्राम पाएको छ । यो केवल एउटा खेलाडीको संन्यासको घोषणामात्र होइन, विश्वभरका करोडौँ फुटबल प्रेमीहरूको मुटुको धड्कन एकाएक रोकिएजस्तै भावुक, स्तब्ध र अतुलनीय क्षण पनि हो । २०७ अन्तर्राष्ट्रिय खेल र १ सय २५ गोलको अद्वितीय कीर्तिमान पछाडि छाड्दै, सन् २०२२ को विश्वकप विजेता कप्तानले जब आफ्नो सामाजिक सञ्जालमा “यो निर्णयले मलाई निकै दुखाएको छ र अझै पनि गहिरो चोट पु¥याइरहेको छ, तर समय आएको कुरा म बुझ्छु” भनेर लेखे, तब विश्व फुटबलको एउटा सिंगो आकाश नै निशब्द बन्यो ।
रोसारियोको एउटा मध्यमवर्गीय परिवारमा सन् १९८७ मा जन्मिएका मेसीको जीवनयात्रा आफैँमा एउटा ठूलो संघर्ष र प्रेरणाको ग्रन्थ हो । हजुरआमा सेलियाको हात समातेर स्थानीय मैदानबाट सुरु भएको उनको यात्रामा १० वर्षको उमेरमा नै ‘ग्रोथ हर्मोन डेफिसियन्सी’ अर्थात शारीरिक वृद्धि नहुने समस्याको तगारो आएको थियो । महिनाको ९ सय डलर पर्ने महँगो उपचार गर्न नसकेर परिवार र स्थानीय क्लबहरू पछि हटिरहँदा, बार्सिलोनाका निर्देशक चार्ली रेक्स्याचले एउटा सामान्य ‘नेपकिन’ (कागजको रुमाल) मा सम्झौता गरेर १३ वर्षका मेसीलाई स्पेन भित्र्याएका थिए । बार्सिलोनाको ‘ला मासिया’ एकेडेमीबाट सुरु भएको त्यो उडानले पछि फुटबलको इतिहास नै बदलियो । पेप ग्वार्डीयोलाको ‘फल्स नाइन’ रणनीति होस् वा लुइस सुआरेज र नेयमारसँगको ‘एमएसएन’ त्रिकुट अग्रपंक्ति, मेसीले बार्सिलोनाका लागि ६ सय ७२ गोल गर्दै ३५ वटा ठूला उपाधि जिते, अनि सन् २०१२ मा एकै वर्षमा ९१ गोल गर्ने अभूतपूर्व कीर्तिमान रचे ।
तर, जुन देशले उनलाई हृदयदेखि माया गर्नुपर्ने थियो, त्यही अर्जेन्टिनाको राष्ट्रिय जर्सी भने लामो समयसम्म उनका लागि आँसु र पीडाको कारण बनिरह्यो । सन् २००५ मा हंगेरीविरुद्धको पहिलो खेलमै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेको ९० सेकेन्डमै रातो कार्ड खाएर बाहिरिनुपरेको त्यो दुर्योगदेखि सुरु भएको अन्तर्राष्ट्रिय यात्रामा लगातारको असफलताले उनलाई घेरिह्यो । सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँगको हार, अनि २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पराजय । २०१६ को फाइनलमा पेनाल्टी मिस गरेपछि विक्षिप्त बनेका मेसीले रोएरै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणासमेत गरेका थिए । विश्वका महान् खेलाडी डीएगो म्याराडोनासँग निरन्तर गरिने तुलना र देशभित्रै सुनिने कटु आलोचनाका बाबजुद उनले आफ्नो हार स्वीकार गरेनन् । देशवासीलाई एउटा ठूलो खुसी दिने सपना बोकेर उनी पुनः मैदानमा फर्किए ।
अन्धकार पछिको उज्यालो झैँ सन् २०१८ मा लियोनेल स्कालोनी अर्जेन्टिनाको प्रशिक्षक बनेपछि मेसीको अन्तर्राष्ट्रिय करियरले स्वर्णिम मार्ग तय ग¥यो । सन् २०२१ मा कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई उसैको घरेलु मैदान मारकाना स्टेडियममा १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछिको पहिलो ठूलो उपाधि जित्यो र मेसीको टाउकोबाट निराशाको बोझ हट्यो । त्यसपछि आयो सन् २०२२ को कतार विश्वकप, जहाँ ३५ वर्षका मेसीले टोलीको नेतृत्व गर्दै एउटा जादुगरको जस्तै प्रदर्शन गरे । फाइनलमा फ्रान्सविरुद्ध ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा हासिल गरिएको त्यो ऐतिहासिक जितले मेसीलाई पेले र म्याराडोनाको समकक्षमा मात्र पु¥याएन, धेरैका लागि उनी फुटबल इतिहासकै सर्वकालीन महान् (गोट) सावित भए ।
सन् २०२६ को विश्वकपमा कीर्तिमानी छैटौँ पटक सहभागी हुँदै मेसीले ८ गोल र ४ असिस्टका साथ आफ्नो अन्तिम विश्वकपलाई पनि स्मरणीय बनाए । यद्यपि, अगस्ट महिनामा आफ्ना पिता जोर्जेको निधनले उनलाई गहिरो मानसिक चोट पु¥याएको थियो । जसका कारण उनले आफ्नो करियरलाई अगाडि बढाउने विषयमा गम्भीर प्रश्न उठाएका थिए । अन्ततः ३९ वर्षको उमेरमा, जब उनले आफ्नो अन्तिम बिदाइको घोषणा गरे, तब अन्तर्राष्ट्रिय जगतका महान् हस्तीहरूले उनको अभूतपूर्व करियरलाई सम्झिए । उनका सहकर्मी लौटारो मार्टिनेजले “मैदानभित्रको सफलताभन्दा पनि हारपछि कसरी उठ्ने र आफूमा कसरी विश्वास राख्ने भन्ने कुरा तपाईँले सिकाउनुभयो” भन्दै भावुक सन्देश लेखे । त्यस्तै, अर्जेन्टिनाका राष्ट्रपति खाभियर मिलेईले उनलाई “असम्भवलाई सम्भव बनाउने मानिस” भनेर आफ्नो अभिव्यक्ति जाहेर गरे ।
अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए तापनि मेजर लिग फुटबल (एमएलएस) मा इन्टर मायमीका लागि उनको जादुमयी खेल अझै केही समय जारी रहनेछ । तर, अर्जेन्टिनाको १० नम्बर जर्सीमा अब मेसीलाई देख्न पाइने छैन । ब्युनोस आयर्सका एक शिक्षकले भने झैँ,“म्याराडोनापछि एउटा शून्यता थियो, त्यसपछि मेसी आए, र अब हामी पुनः त्यही शून्यतातर्फ फर्कँदै छौँ ।” लिओनेल मेसी केवल गोल र उपाधिका तथ्यांकमात्र होइनन्, उनी त धैर्य, समर्पण, नम्रता र अनवरत संघर्षका प्रतीक हुन् । उनी यस्ता फुटबल नायक हुन् जसले मानिसहरूलाई असफलताका बीचमा पनि सपना देख्न र ती सपनाहरू पूरा गर्न अन्तिम सासमा सम्म लड्न सिकाए । फुटबल मैदानमा उनले कोरेको अद्भुत गाथा र स्वर्णिम इतिहास युगौँयुगसम्म प्रत्येक फुटबल प्रेमीको हृदयमा कालजयी बनेर रहनेछ ।












प्रतिक्रिया