धादिङ ।
आइतबार बिहान धादिङको गल्छी गाउँपालिका–४ स्थित चिरौदी खोलामा त्रिशूली नदीको बाढी पसेपछि चार वटा घर बगाएको छ। बिहानै आएको भीषण बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। लगातारको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव एक्कासि बढेपछि चिरौदी खोलामा समेत ठूलो बाढी आएको स्थानीयले बताएका छन्।
बाढीको तीव्र बहावले खोलाको आसपास रहेका चार घर बगाएको हो। बाढीका कारण चिरौदी खोला तटीय क्षेत्रका अन्य घर तथा बस्तीसमेत जोखिममा परेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ। नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा थप जोखिम उत्पन्न भएको हो।
पछिल्लो समय रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरिरहेका बेला त्रिशूली नदीमा समेत आएको बाढीले धादिङका नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको छ। चिरौदी खोलामा आएको बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई नदी, खोला तथा तटीय क्षेत्रबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।











प्रतिक्रिया