धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा भगवती तिमल्सिना

७५ परिवारका ४१० सदस्यलाई समेट्दै सामाजिक सेवामा सक्रिय समाजको नेतृत्वमा नयाँ कार्यसमिति


काभ्रे ।

धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको दशौं वार्षिकोत्सव तथा छैटौं साधारण सभाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।


शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा परशुराम गोदार थापा, सचिवमा खड्गबहादुर (जीवन) श्रेष्ठ, कोषाध्यक्षमा ममता लामा तथा सदस्यहरूमा जीतबहादुर केसी, तुलसीराम रिजाल, अमिन सुतार कार्की, अम्बिका हुमागाईं र राजेन्द्र शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।


नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले संस्थालाई सबै सदस्यको साझा थलोका रूपमा अघि बढाउँदै विगतमा सञ्चालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संस्थाको उद्देश्य, भावना र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सबैलाई समेट्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष तिमल्सिनाले पछिल्लो समय देशमा आएको विपद्का कारण नागरिकले भोग्नुपरेको पीडाप्रति समाज संवेदनशील रहेको बताउँदै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिमा संस्थाका सदस्यले आफ्नो क्षमताअनुसार आर्थिक, सामाजिक तथा भौतिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपद्को समयमा सामाजिक संस्था र नागरिकको भूमिका अझ महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री उद्धार कोषमा स्वेच्छिक सहयोग गर्नसमेत सदस्यहरुलाई आह्वान गर्नुभयो ।

समाजका निवर्तमान अध्यक्ष गायत्रीरमण घिमिरेले संस्था स्थापनादेखि दश वर्षसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पदमा नरहे पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धुलिखेलमा विभिन्न कामका सिलसिलामा आएर स्थायी बसोबास गरेका १८ जिल्लाका व्यक्तिहरूलाई एउटै परिवारमा आबद्ध गरी सुख–दुःखमा साथ दिने उद्देश्यले संस्था स्थापना गरिएको उहाँले बताउनुभयो ।

“यो संस्था हामी सबैको साझा गुठी हो,” घिमिरेले भन्नुभयो, “सदस्य परिवारमा आइपर्ने सुख–दुःखमा साथ दिने भावनाले नै संस्थालाई एक दशकसम्म सदस्यहरुको एकता र सद्भावकै कारण यहाँसम्म ल्याएको हो ।”

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले कार्यक्रमको उद्घाटन गमलामा पानी हालेर गर्नुभयो । सोही अवस्थामा संस्थाद्धारा प्रकाशित संस्थाको १० बर्षको गतिविधिका साथ विविध सामग्री समेटिएको पुस्तकको विमोचन गर्नुभयो । सोही अवसरमा उहाँले संस्थाका संस्थापक जेष्ठ सदस्य विष्णु प्रसाद पाण्डेलाई सम्मान गर्दै अक्षरसँग आफ्नो जीवनको गहिरो सम्बन्ध रहेको बताउनुभयो । धुलिखेल कल्याणकारी सेवा समाजले गर्दै आएका सामाजिक गतिविधिको प्रशंसा गर्नुभयो । उहाँले समाजका सदस्यबीच आपसी एकता, सहयोग र सद्भाव अझ बलियो बन्दै जाओस् भन्ने शुभकामना दिदै मर्मस्पर्शी कविता वाचन गर्नुभयो ।

सोही अवसरमा धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा सञ्जीवनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राजेन्द्र कोजूले समाजमा आबद्ध ७५ परिवारका करिब ४१० सदस्यको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। मुटुरोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै उहाँले समाजका सदस्यको समयमै मुटु परीक्षणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष तथा समाजसेवी मोहनकुमार श्रेष्ठले समाजका गतिविधिबाट प्रभावित भएर आफू आजीवन सदस्य बनेको बताउनुभयो । धुलिखेल कल्याणकारी सेवा समाज र रोटरी क्लबको उद्देश्य सामाजिक सेवा नै भएकाले आगामी दिनमा सामाजिक क्षेत्रमा सहकार्य गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

धुलिखेल नगरपालिका वडा नं ७ का वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जुले संस्था स्थापनादेखि हालसम्म कुनै पनि कार्यक्रममा आफू नछुटेको बताउँदै समाजले देखाउँदै आएको मानवीय भावना, पारस्परिक सहयोग र सद्भावबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले संस्थाको निरन्तर प्रगति र उन्नतिको कामना गर्नुभयो ।

संस्थापक तथा समाजसेवी प्रल्हाद प्याकुरेलले धुलिखेलको विकास र सामाजिक क्षेत्रमा समाजका सदस्यले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । विभिन्न क्षेत्रका बौद्धिक तथा सामाजिक व्यक्तित्व आबद्ध रहेको समाज विपद्, सुख र दुःखमा एकजुट भएर अघि बढ्दै आएको उहाँको भनाइ थियो ।

समाजका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक चुडामणि पराजुलीले स्थापनाकालदेखि नै संस्थाका गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आएको बताउँदै संस्थाको हितलाई नै समाजको हितको आधार बनाउन नवनिर्वाचित नेतृत्वलाई सुझाव दिनुभयो । निर्वाचन समितिका सदस्य धनबहादुर बस्नेत र अरुणा कुमारी बरालले पनि नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

साधारण सभामा सचिवद्धारा प्रस्तुत प्रगति प्रतिवेदनअनुसार समाजमा हाल ७५ परिवारका करिब ४१० सदस्य आबद्ध छन् । समाजले सदस्य परिवारबीच भाइचारा तथा सांस्कृतिक सम्बन्ध बलियो बनाउन तिहारमा देउसी–भैलो, पारिवारिक वनभोज, विशेष साधारण सभा तथा धार्मिक–पर्यटकीय क्षेत्र अवलोकनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०८१ सालको तिहारमा धुलिखेलका वडा नं. ४, ६, ७ र ८ मा सदस्य परिवारका घर तथा चोकमा तीन दिन देउसी–भैलो खेलिएको थियो भने २०८२ सालमा सरस्वती बजारमा सामूहिक रूपमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो ।

सदस्य परिवारमा मृत्यु हुँदा समाजले मृत्यु बिचरा सहयोगस्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा दुःखमा सबै सदस्य परिवारबाट कम्तीमा एक जना सहभागी हुने संस्कारलाई थप प्रभावकारी बनाउने आवश्यकता पनि प्रतिवेदनले औंल्याएको छ ।

समाजले धुलिखेलमा व्यवस्थित दाहसंस्कारस्थल तथा पितृपूजा स्थल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। धुलिखेल नगरपालिकाले साविक वडा नं. ६ स्थित दाहसंस्कारस्थलभन्दा तल बुद्धपार्क क्षेत्रमा दाहसंस्कारस्थल तथा कृयापुत्री भवन निर्माणका लागि स्वीकृति दिएको भए पनि विद्युतिय शवदाहस्थल निर्माणका लागि बागमती प्रदेश सरकारमा पेश गरिएको परियोजना छनोटमा पर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा विगत बर्षहरुमा झै पारिवारिक मिलन तथा वनभोज, स्वास्थ्य शिविर, देउसी–भैलो, समिति तथा उपसमितिलाई क्रियाशील बनाउने, सदस्यता विस्तार गर्ने र स्थानीय तह तथा विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्ने योजना समाजले अघि सारेको छ । समाजमा हालसम्म २७ जना आजीवन सदस्य बनेका छन् । आगामी वर्ष सदस्य नवीकरण शुल्क पाँच सय र बिचरा सहयोग दुई हजार पाँच सय गरी प्रतिपरिवार तीन हजार रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ । आजीवन सदस्यता शुल्क ३० हजार रुपैयाँ र नयाँ सदस्य प्रवेश शुल्क १० हजार रुपैयाँ कायम राख्ने प्रस्ताव पनि साधारण सभामा पेश गरिएकोमा साधारण सभाले पारित गरेकोछ ।

सचिवका रूपमा दुई कार्यकाल संस्थाको जिम्मेवारी सम्हाल्दै आउनुभएकी नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा सामाजिक एकता, पारिवारिक सम्बन्ध, स्वास्थ्य, संस्कृति र विपद्का समयमा सहयोगलाई संस्थाको आगामी प्राथमिकताका रूपमा अघि सारिएको छ ।

साधारण सभाले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै संस्थाको एक दशक लामो यात्रालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ । नयाँ नेतृत्वले पनि संस्थाको उदेश्य अनुरुपनै संस्थाका सदस्यहरूको सुख–दुःखमा साथ दिने साझा सामाजिक परिवारका रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा संस्थाका निर्वतमान उपाध्यक्ष खड्ग प्रसाद सापकोटोले स्वागत मन्तब्य राख्नुका साथै संस्थाको उदेश्य माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आजीवन सदस्यहरुलाई विशेष अतिथि तथा संस्थाका अध्यक्ष घिमिरेले आजिवन सदस्यता प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका सदस्य त्रिलोचन घिमिरेले गर्नुभएको थियो ।