भोटेकोशीमा बहाव बढ्यो, ठूलो बाढीको जोखिम छैन


काठमाडौं । 

रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशीको बहाव बढेको हो। नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि अवस्था ठूलो बाढी आउने खालको नरहेको जनाइएको छ।

यसअघि ल्हेन्दे खोलामार्फत भोटेकोशीमा पुनः बाढी आएको भन्दै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। तर, महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा हाल ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

गत भदौ १० गते ल्हेन्दे खोलाबाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सो घटनाको त्रास कायमै रहेकाले नदीको बहाव बढ्दा स्थानीयस्तरमा सतर्कता बढाइएको हो।