महाधिवेशनको जित कांग्रेसकै हुनुपर्छ : उदय शम्सेर राणा


काठमाडौँ ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदय शम्सेर राणाले १५औँ महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाको परिणाम जस्तोसुकै भए पनि त्यसले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै राणाले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा, विचार र लोकतान्त्रिक संस्कारको अभ्यासका रूपमा अघि बढाउन आग्रह गरे। शनिबारदेखि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ।

राणाले उम्मेदवारहरूले आफ्ना विचार र योजना प्रस्तुत गर्दै पार्टी कार्यकर्ताको विश्वास जित्नुपर्ने बताउँदै प्रतिस्पर्धामा जसले जिते पनि त्यो जित नेपाली कांग्रेसको हुनुपर्ने धारणा राखे।

उनले महाधिवेशनसँग पार्टी सदस्यको आकांक्षासँगै आमनागरिकको आशा पनि जोडिएको उल्लेख गर्दै सबल कांग्रेस, सुदृढ लोकतन्त्र र समुन्नत नेपाल साझा लक्ष्य हुनुपर्ने बताए। साथै उनले नेता–कार्यकर्तालाई संयम, सहकार्य र लोकतान्त्रिक संस्कारका साथ महाधिवेशन सम्पन्न गर्न आग्रह गरे।