काठमाडौँ ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान पछिल्लो तीन महिनादेखि प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्ने तथा मौसम प्रतिकूल हुने गरेका कारण उडान सञ्चालनमा समस्या आएको हो।
नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको मौसम लगातार प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको छ। वर्षायाममा प्रत्येक वर्ष करिब तीन महिनासम्म विमानस्थलको उडान प्रभावित हुने गरेको उहाँले बताउनुभयो।
नेपाल एयरलाइन्सले यात्रुको चापलाई मध्यनजर गर्दै रेसुङ्गा–काठमाडौँ रुटमा शनिबार, आइतबार र बिहीबार गरी सातामा तीन दिन उडानको तालिका बनाएको छ। काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः४५ बजे उडान हुने तालिका छ।
हाल गुल्मी–काठमाडौँतर्फ प्रतियात्रु १० हजार ५१० रुपैयाँ र काठमाडौँ–गुल्मी १० हजार ७१० रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ। इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्नु तथा तम्घास–काठमाडौँ सडक सञ्जालमा सुधार भई स्तरीय सवारीसाधन सञ्चालन हुन थालेपछि हवाई यात्रुको चाप घटेको बताइएको छ।
रेसुङ्गा विमानस्थलले गुल्मीलाई काठमाडौँसँग प्रत्यक्ष हवाई सेवामार्फत जोड्नुका साथै जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक आगमन बढाउन सहयोग पुर्याउँदै आएको छ। मौसम अनुकूल भएपछि नियमित उडान पुनः सञ्चालन हुने स्टेशन प्रमुख थापाले बताउनुभयो।











प्रतिक्रिया