काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि उद्धार तथा राहतको प्रयास जारी रहँदा भारतका चर्चित कलाकार तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूले नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले बाढी प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै नेपालका लागि प्रार्थना र सहयोगको आह्वान गरेका छन्।
परोपकारी कामका लागि चर्चित अभिनेता सोनु सुदले नेपाललाई प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जालमा ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्दै खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन्। सुदको यो भनाइलाई नेपालप्रति बलिउडबाट आएको सबैभन्दा बलियो सहयोगी सन्देशका रूपमा हेरिएको छ।
नेपाली मूलकी बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि बाढीबाट भएको विनाशप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा ‘नेपालका लागि प्रार्थना गरौं’ भन्ने सन्देशसहित बाढीले पुर्याएको क्षतिको तस्बिर तथा भिडियो साझा गरेकी छन्। नेपालसँग उनको पारिवारिक र भावनात्मक सम्बन्ध भएकाले उनको प्रतिक्रियालाई विशेष अर्थका रूपमा हेरिएको छ।
भारतीय टेलिश्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गरेर चर्चित अभिनेता तथा भारतीय सांसद अरुण गोविलले पनि नेपालका बाढी प्रभावितका लागि प्रार्थना गरेका छन्। उनले विपत्तिमा परेका नेपालीको सुरक्षा, सहनशक्ति र कल्याणका लागि कामना गरेका छन्।
अभिनेता सञ्जय दत्तले समेत सामाजिक सञ्जालमार्फत कठिन परिस्थितिमा नेपाली जनतासँग आफू उभिएको सन्देश दिएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला दत्तको यो ऐक्यबद्धताले पनि चर्चा पाएको छ।
यसैगरी, अभिनेत्री भूमि पेडणेकर र कंगना रनौतलगायतका भारतीय कलाकारहरूले पनि नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावितका लागि प्रार्थना तथा सहानुभूति जनाएका छन्।
बलिउडबाहिरका कलाकार तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूले पनि नेपालप्रति चासो देखाएका छन्। दक्षिण भारतीय अभिनेता सिलम्बरासन टीआरले बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै प्रभावित तथा बेपत्ता मानिसहरूका लागि प्रार्थना गरेका छन्।
त्यस्तै, नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले पनि नेपालमा भएको विनाशप्रति दुःख व्यक्त गर्दै नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्।
नेपालमा आएको बाढीपछि भारतसहित विभिन्न देशबाट उद्धार, राहत र सहयोगका आवाज उठिरहेका बेला चर्चित कलाकारहरूको सार्वजनिक समर्थनले विपत्तिबारे अन्तर्राष्ट्रिय ध्यानसमेत आकर्षित गरेको छ। विशेषगरी सोनु सुदले खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मनोरञ्जन क्षेत्रको समर्थन केवल सामाजिक सञ्जालमा सीमित नरहने अपेक्षा गरिएको छ।
यस विपत्तिले नेपालमा राहत र पुनर्निर्माणका लागि ठूलो सहयोगको आवश्यकता देखाएको छ। उद्धार कार्य जारी रहँदा कलाकारहरूको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धताले विपत्तिमा परेका नेपालीलाई मनोबलसमेत दिने विश्वास गरिएको छ।













प्रतिक्रिया