भोटेकोशी बाढीले धादिङमा ठूलो क्षति:  ५ पक्की र ११ झोलुङ्गे पुल बगे, १५० घरमा क्षति     

गोसाइँकुण्ड गएका २९ यात्रु सम्पर्कविहीन

0
Shares

धादिङ ।

चीनतर्फको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीका कारण जिल्लाका विभिन्न स्थानमा पाँचवटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको तथा करिब १५० घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीले धादिङबेसी सदरमुकामलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोला पक्की पुलसमेत बगाएपछि सदरमुकामसँगको मुख्य यातायात सम्पर्क टुटेको छ । २०५६ सालमा निर्माण भएको उक्त पुल त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको हो ।

प्राप्त विवरणअनुसार केउरेनीबाट गल्छी–१ जोड्ने, जिन्टेटार–स्यालटार जोड्ने, जहरे–सिद्धलेक–७ जोड्ने, घाटबेसी–पिपलटार जोड्ने र मलेखुस्थित धादिङबेसी जोड्ने पक्की पुलमा क्षति पुगेको छ । त्यस्तै घाटबेसी, मालिङ्गा, गजुरी कालिका मन्दिर, बागेश्वरी मन्दिर, केउरेनी, बैरनी, गहते, कल्लेरीघाट, मासटार, चिरौदी र पानसयटारका झोलुङ्गे पुलसमेत बाढीले बगाएको जनाइएको छ ।

बाढीका कारण गल्छी गाउँपालिकामा २५ घर पूर्ण र ४५ घर आंशिक क्षति भएका छन् । बैरनीस्थित पेट्रोल पम्प, बैरनी अस्पताल, बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी तथा दुई वित्तीय संस्थाका कार्यालयमा पनि क्षति पुगेको छ । २० भन्दा बढी सवारीसाधनमा समेत आंशिक क्षति भएको बताइएको छ ।

गजुरी गाउँपालिकामा खेलकुद कभर्डहल पूर्णरूपमा बगेको छ । गलौदो बजारका १७, पोखरेखोलाका तीन, जहरेका सात, बेल्खु बजारका १५ तथा मलेखु–फुर्केखोला क्षेत्रका ३० गरी ७२ घरमा आंशिक क्षति पुगेको छ । एक पेट्रोल पम्पमा पनि क्षति पुगेको छ ।

बेनिघाट रोराङ गाउँपालिकामा ब्लुहेभन होटल पूर्णरूपमा क्षति भएको छ भने आसपासका पाँच घर र त्रिशूली रिभरसाइडमा आंशिक क्षति पुगेको छ । जिपलाइनसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सिद्धलेकमा एउटा होटल तथा करिब २० वटा मरणघाटमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

जहरेखेतस्थित विद्युत् सबस्टेसनमा समेत आंशिक क्षति पुगेपछि राजमार्ग क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

यसैबीच धादिङको सांङ्कोषबाट आज बिहान गोसाइँकुण्ड तीर्थयात्रामा गएको समूहसमेत सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । बा ५ ख १२५० नम्बरको बस रिजर्भ गरेर नुवाकोट हुँदै गएको उक्त टोली बेत्रावती पुगेपछि सम्पर्क हुन नसकेको बताइएको छ । स्रोतले २९ जना सम्पर्कविहीन भएको जनाएको छ । उपलब्ध नामावलीमा भने नीलकण्ठ–१२ का सात, नीलकण्ठ–९ का १२, नीलकण्ठ–३ का तीन र सिद्धलेक–१ का चार गरी २६ जनाको नाम सार्वजनिक गरिएको छ ।

बाढीपछि प्रशासनले बजारबस्ती तथा त्रिशूली नदीमाथिका पुलमा आवतजावत रोक लगाएको थियो । समयमै आवतजावत रोकिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।

यातायात सम्पर्क टुटेपछि धादिङबेसीमा ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको अभाव देखिन थालेको छ । केही पसलमा सामान सकिएको भन्दै बिक्री रोकिएको र कतिपय व्यापारीले मूल्य बढाउन थालेको गुनासो उपभोक्ताबाट आएको छ ।

बाढीपछि जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक योजना बनाएको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पीडितलाई राहत उपलब्ध गराउन संघ र प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । यसैबीच नीलकण्ठ नगरपालिकाले बजार अनुगमन थालेको छ । कृत्रिम अभाव तथा कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने नगर उपप्रमुख दीपक विश्वकर्माले बताउनुभएको छ ।

Skip This