रसुवा बाढीबारे गृहमन्त्रीले संसद्लाई जानकारी गराउने


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढीबारे आज प्रतिनिधिसभामा जानकारी गराउने भएका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा आकस्मिक समय राखेर सांसदहरूलाई आफ्ना विषय प्रस्तुत गर्न दिने र त्यसपछि गृहमन्त्री गुरुङले सांसदका प्रश्न तथा रसुवा बाढीबारे जवाफ दिने तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उनका अनुसार बैठक छोटो बनाउने गरी छलफल भइरहेको छ। यसअघि तय गरिएका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस तथा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पेस गर्ने लगायतका सम्भावित कार्यसूची हटाउने तयारी छ।

विशेष समयसमेत नराखी आकस्मिक समय र रसुवा बाढीबारे गृहमन्त्रीको जानकारीका लागि मात्र बैठक सञ्चालन गर्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

Skip This