दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुष साफ च्याम्पियनसिपमा नेपालले खेल्नको लागि दिएको समय सकिँदैंछ । एसियाली फुटबल महासंघ (एएफसी) ले सेप्टेम्बरसम्ममा फिफाबाट निलम्बन हटेमा नेपालले साफ च्याम्पियनसिपमा खेल्ने पाउनेछ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा रहेको छ ।
यो निलम्बन हटाउन केही समयअघि पुरुष तथा महिला राष्ट्रिय फुटबल खेलाडीहरूले सामाजिक सञ्जालमार्फत् अपिल गरिरहेका थिए । तर, अहिले सबै चुपचाप छन् । कतै कहिबाट पनि निलम्बन हटाउने विषयमा कसैले केही बोलेका पनि छैनन् । एन्फाका पदाधिकारीहरू त निलम्बनमा परेको भन्दै चुपचाप नै छन् ।
विश्व फुटबल महासंघ फिफाले नेपाली फुटबललाई निलम्बन गरेको पनि झण्डै दुई महिना कट्न लागिसकेको छ । जिम्मेबार पक्षहरूको मौनले त अहिलेको लागि नेपालले आगामी साफ च्याम्पियनसिप खेल्न नपाउने नै देखिन्छ । यदि, खेल्न नपाएमा नेपाली फुटबलको इतिहासमा पहिलोपटक साफ च्याम्पियनसिप नेपालविना संचालन हुनेछ ।
निलम्बन हटाउन सरकारको पक्षबाट पहल भइरहेको भन्ने समाचार आइरहेको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफासँग कुरा गरिरहेको बताएका हुन् । उनले छलफल भइरहेको र निलम्बन हटाउन पहल गरिरहेको बताए पनि कुरा कहाँ पुग्यो भन्ने विषय भने सार्वजनिक गरिएको छैन । यसले नेपाली फुटबलको निलम्बन फिर्ता हुनेछ भन्नेमा पनि शंका नै लाग्दछ ।
यस्तो भएमा निलम्बन हटिन सक्छ
पहिलो त एन्फामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हस्तक्षेप गरेपछि नै फिफाले निलम्बन गरेको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेप भनेको नै राखेपको हस्तक्षेपलाई मान्न सकिन्छ । यदि, राखेपले फिफाले भनेको मानेमा नेपाली फुटबलको निलम्बन हट्ने सम्भावना छ । फिफाले राखेपको निर्णय पूर्ण रुपमा फिर्ता लिने र हालको एन्फा कार्यसमिति पुनर्बहाली गर्ने सर्त राखेको छ ।
राखेपले गत चैतमा एन्फालाई खेलकुद ऐन नियमको उल्लघंन गरेको भन्दै चुनावी प्रक्रिया रोक्न, विधान संशोधन गर्न र जिल्ला संघलाई आफ्नो विधान संशोधन गरी निर्वाचन गर्न निर्देशन दिएको थियो । यदि, यी सबै विषयबाट राखेप पछि हटेमा समाधान निस्कन सक्नेछ ।
अर्को संभावना एन्फा, फिफा र राखेप तीनै पक्षको एउटै सहमति निस्कनु पर्दछ । त्यसको लागि तीनै पक्षको सहमतिमा एउटा तदर्थ समिति गठन गर्नु हो । त्यसपछि नयाँ निर्वाचनको कार्यभार दिन सकिनेछ । यो समितिमा पनि फिफा र एन्फादेखि अन्य निष्पक्ष प्रतिनिधिहरूलाई राख्नु पर्दछ । त्यसले नयाँ निर्वाचनको मिति तोक्न सकिनेछ । यसका लागि फिफाको सहमति अनिवार्य हुन्छ । यदि, फिफा सहमतिमा आउँछ भने यो माध्यमले पनि नेपाली फुटबलको निलम्बन हट्न सकिनेछ ।
अन्त्यमा
यदि, एन्फा, राखेप, फिफा तीनै पक्ष आ–आफ्नो अडानमा रहिरहेमा भने नेपाली फुटबलको निलम्बन हट्न सकिँदैंन । यो लम्बिएर जान सक्छ र यसले नेपाली फुटबललाई धरासयी नै पार्छ नै । खेलाडीहरूको भविष्य पनि अन्धकार नै हुनेछ ।














प्रतिक्रिया