११० वर्षभन्दा बढी बाँच्ने मानिसमा किलर प्रतिरक्षा कोष धेरै


काठमाडौं —

११० वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने मानिसको शरीरमा रोग तथा असामान्य कोषसँग लड्ने विशेष प्रतिरक्षा कोष धेरै हुने नयाँ अध्ययनले देखाएको छ।

जापानको ओसाका विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनमा ११० वर्षभन्दा बढी उमेरका मानिसमा दुर्लभ प्रकारका प्रतिरक्षा कोषको मात्रा उल्लेख्य रूपमा बढी पाइएको हो। यी कोषले शरीरमा प्रवेश गर्ने हानिकारक जीवाणु तथा असामान्य कोषलाई नष्ट गर्न सहयोग गर्छन्।

अनुसन्धानका लागि ७० देखि ९९ वर्ष, १०० देखि १०९ वर्ष र ११० वर्षभन्दा माथिका गरी २८ जनाको रगत परीक्षण गरिएको थियो। ७० देखि ९९ वर्षका मानिसमा यी कोष करिब ४ प्रतिशत रहेकामा ११० वर्षभन्दा माथिका मानिसमा यसको मात्रा १७ दशमलव ६ प्रतिशतसम्म पुगेको पाइएको थियो।

वैज्ञानिकहरूका अनुसार यी विशेष प्रतिरक्षा कोषले अत्यधिक वृद्ध मानिसको शरीरलाई रोगसँग लड्न र स्वस्थ रहन सहयोग गरेको हुन सक्ने अनुमान गरिएको छ।

तर यी कोष धेरै भएकै कारण मानिस ११० वर्षभन्दा बढी बाँच्छन् भन्ने कुरा भने अध्ययनले प्रमाणित गरेको छैन। यसबारे थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।