प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर : ११ सांसदले टिपाए नाम


काठमाडौँ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रममा विभिन्न दलका ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न राख्नेछन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न गर्नेछन्।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सांसदहरूले आफूले प्रधानमन्त्रीसँग सोध्न चाहेको प्रश्न यसअघि नै संसद् सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ। सोहीअनुसार ११ जना सांसदले आफ्ना प्रश्न सचिवालयमा बुझाएका हुन्।

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि बुधबारको समय निर्धारण गरेका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न गर्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा समय निर्धारण गर्न सक्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो।