नेपालको टप एन्ड टी २० मा पहिलो जित


काठमाडौं, (नेस) ।

नेपाल ए ले अस्ट्रेलियामा जारी टप एन्ड टी २० मा पहिलो जित हासिल गरेको छ । नेपाली टोलीले सोमबार होबार्ट हुरिकेन्स ए लाई ३९ रन हराएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स १८.३ ओभरमा १ सय १५ रनमा सीमित भएको थियो ।
नेपालका लागि नारायण जोशीले ३, सहाब आलम र पवन सर्राफले समान २ तथा विपिन खत्रीले १ विकेट लिएका थिए । होबार्ट हुरिकेन्सका लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए ।

कुशल भुर्तेलले सर्वाधिक ३९ रन जोड्दा नेपालले ८ विकेटको नोक्सानीमा १ सय ५४ रन बनाएको थियो । त्यस्तै, मयन यादवले ३१, अनिल साहले २८, लोकेश बमले २० रनको योगदान दिए ।

नेपाली टोलीले तीन खेलमा पहिलो जित निकालेको हो । यसअघि नेपाली टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग ९ विकेट र एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो । ९ टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए २ अंकसहित सातौं स्थानमा उक्लिएको रहेको छ ।