शैलेन्द्र सिम्खडाको गाईजात्रे प्रस्तुति

सरकार, राजनीति र भ्रष्टाचारमाथि व्यंग्य


लोकप्रिय व्यंग्यकार शैलेन्द्र सिम्खडाले यस वर्ष पनि गाईजात्राको अवसरमा गाईजात्रे प्रस्तुतिमार्फत सरकार, राजनीति र भ्रष्टाचारमाथि व्यंग्य प्रहार गर्ने भएका छन्।

२०३७ सालदेखि निरन्तर गाईजात्रा प्रस्तुत गर्दै आएका सिम्खडाले ४७औँ गाईजात्रे प्रस्तुतिका रूपमा गाईजात्रा–२०८३ तयार पारेका छन्। सिम्खडाको युट्युब च्यानलमार्फत दुई विशेष कार्यक्रम सार्वजनिक हुने भएका छन्। युट्युब प्रस्तुतिसँगै उनले मञ्चीय कार्यक्रममार्फत पनि दर्शकमाझ गाईजात्रा व्यंग्य प्रस्तुत गर्नेछन्। यसपटक उनको व्यंग्यको मुख्य निशाना सरकार र भ्रष्टाचार रहने जनाइएको छ। समसामयिक राजनीतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै उनले आप्mनो व्यंग्यमा भनेका छन्


सबैले भन्छन् बालेनले भ्रष्टाचार गर्दैन,
म पनि भन्छु बालेनले भ्रष्टाचार गर्दैन,
भ्रष्टाचारीको कम्बल ओढ्दैन
तर अफसोच, आफू भ्रष्टाचार गर्दैन,
भ्रष्टाचारीलाई अँगालो मार्न पनि छोड्दैन।

सिम्खडासँगै उनका विद्यार्थी रुपेश रेग्मी पनि यस वर्षको गाईजात्रामा सहभागी हुँदैछन्। नेपालमा लेखक तथा निर्देशकका रूपमा काम गरिसकेका रेग्मी हाल अस्ट्रेलियामा रहेर पनि गाईजात्राका लागि आप्mनो प्रस्तुति लिएर दर्शकमाझ आउँदैछन्। प्रवासमा रहेर पनि नेपालको सामाजिक र राजनीतिक गतिविधिलाई नियालिरहेका नेपालीको दृष्टिकोण उनको प्रस्तुतिको प्रमुख विषय बन्ने बताइएको छ।

नेपालको गाईजात्रा व्यंग्य परम्परामा चार दशकभन्दा लामो समयदेखि सक्रिय सिम्खडा र नयाँ पुस्ताका व्यंग्य सर्जकका रूपमा अगाडि बढिरहेका रेग्मीको संयुक्त सहभागिताले यस वर्षको गाईजात्रा प्रस्तुतिलाई फरक पुस्ता र फरक भूगोलको अनुभवसँग जोड्ने अपेक्षा गरिएको छ।