लण्डनबाट आयो तीजको सांस्कृतिक रंग


नेपालबाट हजारौँ किलोमिटर टाढा रहे पनि तीजको सांस्कृतिक भाव र नेपाली मौलिकतालाई प्रवासी भूमिमा जोड्ने प्रयासस्वरूप नयाँ सांगीतिक प्रस्तुति लण्डन तीज सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास यूकेको पहलमा तयार भएको गीतको भिडियोमा लण्डनको परिवेशभित्र नेपाली तीजको सांस्कृतिक माहोललाई प्रस्तुत गरिएको छ। प्रवासमा रहे पनि नेपाली कला, भाषा र संस्कृतिसँगको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले भिडियो तयार गरिएको निर्माणपक्षले जनाएको छ।

गीतको शब्द तथा निर्देशन सञ्जय कँडेलले गरेका छन्। लण्डनको परिवेशलाई आधार बनाएर तीजको सांस्कृतिक पक्षलाई दृश्य र कथ्यमा जोड्ने प्रयास कँडेलले गरेका छन्। सविना श्रेष्ठ मुख्य भूमिकामा रहेको भिडियोमा सञ्जय कँडेल, मञ्जु शाह, कृति श्रेष्ठ र निशा श्रेष्ठले अभिनय गरेका छन्। लण्डनमै छायाँकन गरिएको गीतमा अञ्जना रिमालको स्वर र सुनिल राईको संगीत छ।

विपिन ज्ञवालीले छायाँकन गरेको भिडियोमा लण्डनको परिवेशसँगै तीजका सांस्कृतिक दृश्यलाई समेटिएको छ। भिडियो ग्लोबल पत्रको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।