तमिलनाडुमा महिलालाई निःशुल्क बस यात्राको दायरा विस्तार, अक्टोबर २ देखि लागू हुने


चेन्नई ।

तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले महिलाका लागि सञ्चालन हुँदै आएको निःशुल्क बस यात्रा योजनाको दायरा विस्तार गर्ने घोषणा गरेका छन्।

सोमबार विधानसभामा घोषणा गर्दै मुख्यमन्त्री विजयले आगामी अक्टोबर २ अर्थात् गान्धी जयन्तीदेखि विस्तारित योजना कार्यान्वयनमा आउने बताए।

समाचार एजेन्सी पीटीआईका अनुसार, अब योग्य महिलाले महानगर तथा सहरी क्षेत्रमा सञ्चालन हुने सरकारी एक्सप्रेस, एलएसएस र डिलक्स बसमा समेत निःशुल्क यात्रा गर्न पाउनेछन्। यस्तै, उपनगरीय तथा पहाडी क्षेत्रमा नियमित भाडादरमा सञ्चालन हुने सरकारी बसमा पनि महिलासँग भाडा नलिइने व्यवस्था गरिएको छ।

मुख्यमन्त्री विजयका अनुसार निःशुल्क यात्राको सुविधा लिन आम्दानीको कुनै सीमा तथा यात्राको संख्यामा कुनै प्रतिबन्ध हुने छैन। योजनाको विस्तारबाट महिलालाई सार्वजनिक यातायातमा थप सहजता पुग्ने सरकारको अपेक्षा छ।

विस्तारित ‘भेट्री पयनाम’ योजनाका लागि राज्य सरकारमाथि वार्षिक करिब ६ हजार करोड भारतीय रुपैयाँको अतिरिक्त आर्थिक भार पर्ने मुख्यमन्त्री विजयले बताएका छन्।

यसैबीच मुख्यमन्त्री विजयले किसानको तीव्र विरोधका कारण विवादमा रहेको परन्दुर ग्रीनफिल्ड विमानस्थल परियोजना अघि नबढाउने घोषणा पनि गरेका छन्। कृषि भूमि गुमाउन नचाहेका किसानहरूले लामो समयदेखि उक्त परियोजनाको विरोध गर्दै आएका थिए।