नयाँ राजनीतिको दाबी र रास्वपाको अग्निपरीक्षा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना राजनीतिक दलप्रतिको वितृष्णा, भ्रष्टाचारप्रतिको आक्रोश र शासनप्रतिको निराशाबाट जन्मिएको राजनीतिक विकल्प हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको बाचा गर्दै ठूलो जनमतसहित सत्तामा पुगेको रास्वपाका लागि अहिले सबैभन्दा ठूलो चुनौती विपक्षी होइन, आफ्नै जनप्रतिनिधिको बोली र व्यवहार बन्दै गएको देखिन्छ । पछिल्लो समय रास्वपाका केही मन्त्री तथा सांसदका विवादास्पद अभिव्यक्तिले पार्टीले दाबी गर्दै आएको ‘नयाँ राजनीति’को परिभाषामाथि नै प्रश्न उठाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउन’ निर्देशन दिएको अभिव्यक्ति होस् वा प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी, यी अभिव्यक्तिले कानुनी शासनभन्दा आवेगपूर्ण शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको सन्देश दिएको छ ।

त्यस्तै कैलाली–२ का सांसद केपी खनालले नागरिकका प्रश्नको जवाफ दिने क्रममा ‘जाक्छु, समाएर थाहा हुन्छ’ भन्ने शैलीमा दिएको अभिव्यक्ति पनि जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने गम्भीर प्रश्न हो । नागरिकले गुनासो वा प्रश्न राख्दा जनप्रतिनिधिले सुन्ने, बुझ्ने र समाधान खोज्ने हो; थर्काउने होइन । सांसद खगेन्द्र सुनारका विभिन्न विवादास्पद अभिव्यक्तिले पनि रास्वपाभित्र सार्वजनिक पदको मर्यादा र राजनीतिक भाषाशैलीबारे बहस जन्माएको छ । प्रहरी नेतृत्वमाथि प्रश्न उठाउनु सांसदको अधिकार हो । तर प्रश्न गर्ने अधिकारसँगै भाषाको मर्यादा र संस्थागत सम्मानको जिम्मेवारी पनि जोडिएको हुन्छ । त्यसै गरी टीका संग्रौला ‘ज्वाला’, राजु पाण्डेलगायतका सांसदका अभिव्यक्ति र गतिविधिले समेत पार्टीभित्र जनप्रतिनिधिको आचरण र अनुशासनबारे प्रश्न उठाएका छन् ।

यस्ता घटना व्यक्तिगत कमजोरीका रूपमा मात्र हेर्न मिल्दैन । रास्वपाले पाएको जनमत केवल उसको सांगठनिक शक्ति वा राजनीतिक कार्यक्रमप्रतिको समर्थन थिएन, त्यो पुराना दलप्रतिको अस्वीकार पनि थियो । त्यसैले रास्वपाका जनप्रतिनिधिको प्रत्येक व्यवहारले पार्टीको विकल्प बन्ने दाबीको परीक्षण गरिरहेको छ ।
राजनीतिशास्त्री कृष्ण प्याकुरेलले औँल्याएझैँ, पुरानो राजनीतिलाई मूल्य र मान्यताका आधारमा चुनौती दिएर उदाएको दलले ती मूल्य आफैँमा लागू गर्न सक्नुपर्छ । समाजशास्त्री डा. शुक्रराज अधिकारीले भनेझैँ जनताका आकांक्षा तीव्र छन्, तर राज्यका साधन–स्रोत सीमित छन् । यस्तो अवस्थामा राजनीतिक नेतृत्वले जनताको अपेक्षा बढाउने मात्र होइन, जिम्मेवार राजनीतिक संस्कार निर्माणमा पनि लगानी गर्नुपर्छ ।

रास्वपाले सांसदहरूको आचारसंहिताको विषय अघि सार्नु सकारात्मक शुरुवात हो । तर आचारसंहिता कागजमा सीमित भयो भने त्यसको अर्थ हुँदैन । त्यसको प्रभाव देखिनका लागि उल्लंघन गर्ने जोसुकैलाई समानरूपमा कारबाही गर्ने साहस चाहिन्छ । सभापति निकट होस् वा आलोचक, मन्त्री होस् वा सांसद, नियम सबैका लागि समान हुनुपर्छ । रास्वपाका लागि अहिलेको प्रश्न केवल केही अभिव्यक्तिको विवाद होइन, उसको राजनीतिक चरित्रको प्रश्न हो । ‘नयाँ राजनीति’ भन्नु पुरानालाई आलोचना गर्नु मात्र होइन, आफूले दाबी गरेको भन्दा उच्च संस्कार प्रस्तुत गर्नु हो । नागरिकलाई थर्काउने होइन, सुन्ने हो । असहमतिलाई दबाउने होइन, सम्मान गर्ने हो । गल्तीलाई ढाकछोप गर्ने होइन, सच्याउने र कानुनलाई शक्तिभन्दा माथि राख्ने संस्कार नै नयाँ राजनीतिको वास्तविक पहिचान हो । अब रास्वपाको मूल्याङ्कन उसका नाराबाट होइन, सत्तामा रहेका उसका प्रतिनिधिले नागरिकसँग गर्ने व्यवहार र पार्टीले आफ्नै जनप्रतिनिधिमाथि लागू गर्ने अनुशासनबाट हुनेछ । यही नै रास्वपाको वास्तविक अग्निपरीक्षा हो ।