‘सांसद पद राज्यका संस्थालाई तर्साउने लाइसेन्स होइन’ : महेश बर्तौला


काठमाडौं ।

नेकपा (एमाले) का नेता तथा पूर्व मुख्य सचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउने, धम्क्याउने वा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने लाइसेन्स नभएको बताएका छन्।

प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत काम भएको भए निष्पक्ष छानबिन गरी दोष प्रमाणित भए कानूनबमोजिम तत्काल कारबाही गर्नुपर्नेमा उनले जोड दिएका छन्।

तर सत्तापक्षका एक सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने तथा धम्की दिने गतिविधि गरिरहेको भन्दै बर्तौलाले आपत्ति जनाएका छन्।

उनले यस्तो गतिविधिलाई ‘सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा’को संज्ञा दिएका छन्। उनका अनुसार सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी हो, व्यक्तिगत आक्रोश पोख्ने वा राज्यका संस्थामाथि दबाब सिर्जना गर्ने माध्यम होइन।

‘लोकतन्त्रमा प्रश्न उठाउन पाइन्छ। राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइन्छ,’ बर्तौलाले भनेका छन्, ‘तर आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि हुँदैन।’

बर्तौलाले सम्बन्धित प्रहरी अधिकारीमाथि कुनै आरोप भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोष प्रमाणित भए कानूनी कारबाही गर्नुपर्ने बताए। साथै, सांसदबाट भइरहेको भनिएको सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे सरकार तथा सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ।