काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका करिब ४० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्। नेपाली कांग्रेसको प्रचारप्रसार समितिले बुधबार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारी फिर्ता लिनेको संख्या सार्वजनिक गरेको हो।
प्रचारप्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर, उपसभापतिका उम्मेदवार डा. मीनेन्द्र रिजाल र आफूले समेत उम्मेदवारी फिर्ता लिएका छन्।
त्यसैगरी विभिन्न क्लस्टरतर्फ १५ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएको चालिसेले जानकारी दिए।
पत्रकार सम्मेलनमा चालिसेले भने, ‘केही साथीहरूले उम्मेदवारी फिर्ता लिनुभएको छ। पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर, उपसभापतिका उम्मेदवार मीनेन्द्र रिजाल र मैले पनि उम्मेदवारी फिर्ता लिएको अवस्था छ। यससँगै करिब ४० जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। क्लस्टरतर्फ मात्रै १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ।’
प्रवक्ता चालिसेका अनुसार अब केही समयभित्रै महाधिवेशनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ।











प्रतिक्रिया