अक्टोबर ६, २०२६ को रात विश्वभरका अधिकांश फुटबलप्रेमीहरूले टेलिभिजनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत अर्जेन्टिना र बेनिनबीचको मैत्रीपूर्ण म्याचलाई फिफा विश्वकपको फाइनलसरह महत्व दिएर हेरे । त्यस रात उक्त म्याच भएको खेलस्थल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एस्टाडियो मोनुमेन्टल रंगशाला केवल एउटा फुटबल मैदानमात्र रहेन । सिंगो अर्जेन्टिनाको सामूहिक धड्कन, आँसु र कृतज्ञताको संगमस्थल बन्यो । जब अर्जेन्टिनी टोलीले बेनिनलाई ३–० गोलअन्तरले हराउने क्रममा ३९ वर्षीय अर्जेन्टिनी टोलीका कप्तान लियोनेल मेसीले दुई उत्कृष्ट असिस्ट र ७१औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो १२६औँ अन्तर्राष्ट्रिय गोल पूरा गरे, तब फुटबलको एउटा सिंगो स्वर्णिम युगले आधिकारिक रूपमा विश्राम लियो । अर्जेन्टिनी फुटबल महासंघले “द लास्ट ट्याङ्गो” अर्थात् ‘अन्तिम नृत्य’ नाम दिएको यो मैत्रीपूर्ण खेल वास्तवमा एउटा खेलमात्र थिएन, एउटा यस्तो राष्ट्रिय उत्सव थियो, जसको प्रत्येक सेकेन्डमा अर्जेन्टिनीहरूले आफूले दशकौँदेखि डराउँदै आएको यथार्थलाई अंगालिरहेका थिए, र त्यो हो मेसीबिनाको अर्जेन्टिना । ८५ हजारभन्दा बढी समर्थकहरूले खचाखच भरिएको रंगशालामा ९० मिनेटभित्रै टिकटहरू सकिएका थिए भने कालो बजारीमा ती टिकटको मूल्य २५ सय अमेरिकी डलरभन्दा माथि पुगेको थियो । उक्त रात सन् १९७८, १९८६ र २०२२ का विश्वकप विजेता अर्जेन्टिनी टोलीका दिग्गजहरू साक्षी बसेको त्यस मैदानमा “अमर कप्तान” लेखिएका ब्यानरहरू फहराइरहँदा, सहरको केन्द्रमा रहेको ऐतिहासिक ओभेलिस्क स्मारक राष्ट्रिय झण्डाको हल्का नीलो र सेतो रङमा चम्किरहेको थियो । सारा देशले आफ्ना प्रिय नायकको २०८औँ तथा अन्तिम खेललाई कुनै विश्वकपको फाइनल जत्तिकै उत्कर्षमा पु¥याएर बिदाइ ग¥यो ।
मैदानभित्र मेसीले पुनः एकपटक साबित गरे कि उनी किन अद्वितीय छन् भनेर । पूरै ९० मिनेट खेलेका मेसीले आफ्नो कुशलता पस्कँदा सारा रंगशाला उठेर तालीको गडगडाहट गुन्ज्याउँदा मुस्कुराउँदै आफ्ना समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गर्थे । ४८औं मिनेटमा निकोलस ओटामेन्डी र ६१औं मिनेटमा निको पाजका लागि गोलको अवसर सिर्जना गरिदिएपछि ७१औं मिनेटमा पेनाल्टीमार्फत आफैंले गरेको गोलले उनको ऐतिहासिक तथ्यांकलाई थप उचाइ दियो । तर, अन्तिम सिट्टी बजेपछिका दृश्यहरू भने निकै भावुक र अविस्मरणीय थिए । मैदानको मध्यभागमा टोलीका साथीहरूले उनलाई घेरेर काँधमा उचाल्दा मेसीका आँखा रसाएका थिए । रंगशालामा उपस्थित हजारौँ प्रशंसकहरूले “ओले, ओले, ओले, मेसी, मेसी” को गगनभेदी नारा गुन्ज्याउँदै उनीसामु शिर झुकाए । आकाशमा ड्रोन लाइट सोमार्फत उनको १० नम्बर जर्सी चम्काइयो भने परिवारका सदस्यहरूसहित मैदानमा उभिएका मेसीले भावविह्वल भएर अशान्त बनिरहेका जनसमुदायलाई सम्बोधन गर्दै भने,–“मैले भोगेका नराम्रा क्षणहरूमा पनि मैले कहिल्यै संघर्ष गर्न र यो टोलीमा रहन छाडिनँ । म हजुरहरू सबैलाई माया गर्छु र मलाई हजुरहरूको सधैँ सम्झना आउनेछ । म अर्जेन्टिनी हुनुमा गर्व गर्छु ।”
यो भावुक बिदाइ केवल २१ वर्षअघि सुरु भएको एकजना फुटबलरको महाकाव्यको पूर्णविराममात्रै होइन, फुटबल जगतकै एउटा महान अध्यायको पनि समापन हो । जसको सुरुवात नै नाटकीय रूपमा भएको थियो । अगस्ट २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्ध सिनियर टोलीमा डेब्यु गर्दा मैदान छिरेको दुई मिनेटमै रातो कार्ड पाएर आँसु बगाउँदै बाहिरिएका ती लजालु ठिटोले पछि गएर सिंगो फुटबल जगतलाई नै आफ्नो मुट्ठीमा लिन्छन् भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेर आशा जगाए पनि त्यसपछिका वर्षहरू मेसीका लागि अत्यन्तै कठोर र पीडादायी रहे । सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँगको १–० को हार, अनि २००७, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा लगातारका पराजयहरूले उनलाई मानसिक रूपमा तहसनहस बनाएको थियो । देशवासीहरूले त उनीभित्र महान् डीएगो म्याराडोनाको जस्तो आक्रामक र विद्रोही स्वभाव नदेखेर उनलाई “स्पेनिस केटो” वा राष्ट्रभक्ति नभएको खेलाडी भन्दै शब्दका तीखा वाणहरूसमेत हानेका थिए । पराजयको यही भारी र कठोर आलोचना सहन नसकेर मेसीले जुन २०१६ मा राष्ट्रिय टोलीबाट संन्यासको घोषणासमेत गरेका थिए । यद्यपि, देशभक्तिको अद्भूत भावनाले उनलाई केही हप्तामै पुनः मैदानमा फर्काएको थियो ।
संयम, धैर्य र निरन्तरको संघर्षले अन्ततः उनले नियतिलाई पनि झुकाएरै छाडे । सन् २०२१ मा ब्राजिलको प्रसिद्ध मराकाना रंगशालामा चिरप्रतिद्वन्द्वी ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछिको पहिलो ठूलो उपाधि (कोपा अमेरिका) जित्दा, मैदानमा घुँडा टेकेर भक्कानिएका मेसीको आँसुले उनका सम्पूर्ण आलोचकहरूलाई भावुक बनाइदियो । त्यो जित अर्जेन्टिनाका लागि मेसीले दिलाएको पहिलो अन्तर्राष्ट्रिय च्याम्पिनसिप ट्रफीमात्रै थिएन, मेसी र अर्जेन्टिनाबीच उब्जिएको अनेकन शंकाको सम्बन्धविच्छेद पनि थियो । त्यसपछिको कथा इतिहासका पानाहरूमा सुनौलो अक्षरले लेखियो । सन् २०२२ मा कतारको तातो मरुभूमिमा फ्रान्सविरुद्धको त्यो सातो जाने फाइनल जित्दै मेसीले देशलाई ३६ वर्षपछि विश्वकपको ट्रफी दिलाए । करोडौँ अर्जेन्टिनीहरू सडकमा ओर्लिएर आफ्ना नयाँ फुटबल ‘भगवान्’ को पूजा गरिरहेका थिए । सन् २०२४ मा करियरको दोस्रो कोपा अमेरिका जितेर आफ्ना स्वर्णिम सफलताहरू थपेका मेसीको अन्तिम विश्वकप यात्रा सन् २०२६ को विश्वकपमा स्पेनसँग १–० को झिनो पराजयसँगै टुंगियो, र अक्टोबर ६ मा बेनिनविरुद्धको खेललाई नै उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल ‘लास्ट ट्याङ्गो’ बनाउने निर्णय गरे ।
राजनीतिक अस्थिरता र आर्थिक मन्दीले थिचिएका अर्जेन्टिनीहरूका लागि मेसीले खेल्ने फुटबल शैली केवल खेलमात्र थिएन, जीवनका दुःखहरूलाई बिर्साउने एउटा सञ्जीवनी बुटी पनि थियो । फुटबल संसारका मानिसहरू भन्ने गर्छन्,–“भगवानलाई धन्यवाद, जसले हामीलाई मेसी खेलेको युगमा जन्मायो ।” हुन पनि सही हो, उनी मैदानमा हुँदा असम्भव भन्ने शब्द नै हराउने गर्दछ । मेसीले अमेरिकी क्लब इन्टर मायमीबाट सन् २०२८ सम्म क्लब फुटबल खेलिरहने भए पनि नीलो र सेतो धर्काको जर्सीमा अर्जेन्टिनाको भार आफ्नो काँधमा बोक्ने उनको युग भने अब सदाका लागि समाप्त भएको छ । प्रशिक्षक लियोनेल स्कालोनीले मेसीले पहिरिने १० नम्बर जर्सीको कुनै तत्काल उत्तराधिकारी नहुने बताएका छन् । किनकि म्याराडोना र मेसीजस्ता महान् व्यक्तित्वहरू दोहोरिएर आउँदैनन् । अर्जेन्टिनाबाट २१ वर्ष, २०८ खेल, १२६ गोल, दुई कोपा अमेरिका र एक विश्वकप ट्रफीको अभूतपूर्व करियरलाई पछाडि छाड्दै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् । तर, अर्जेन्टिनाको मुटुमा र विश्व फुटबल इतिहासमा उनको नाम कालजयी ‘अमर कप्तान’ का रूपमा सधैँ टल्किरहनेछ ।











प्रतिक्रिया