त्रिकोणात्मक प्रेम, अन्तरजातीय सम्बन्ध र अभिभावक पुस्ताबीचको द्वन्द्वलाई एकसाथ प्रस्तुत गर्ने फिल्म जदौको टिजर सार्वजनिक गरिएको छ।
हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक करिब एक मिनेटको टिजरले नयाँ पुस्ताको प्रेमकथासंगै नेपाली समाजमा अझै विद्यमान जातीय विभेद र त्यसबाट सिर्जित सामाजिक जटिलताको झलक दिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म आगामी असोज ९ गते देशव्यापीरुपमा प्रदर्शनमा आउनेछ। टिजरमा अभिनेता प्रभातपाल ठकुरी अभिनेत्री नीति शाह र राजश्री थापाबीचको प्रेम सम्बन्धमा प्रस्तुत गरिएको छ।
उनीहरूको सम्बन्धले त्रिकोणात्मक प्रेमकथाको संकेत गर्छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन्।
निर्माण पक्षले जदौलाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गर्दै आएको छ। नेपाली समाजमा जातका आधारमा हुने विभेदकारी व्यवहारले मानिसको जीवन र सम्बन्धमा पार्ने प्रभाव तथा त्यसविरुद्ध अघि बढ्नुपर्ने आवश्यकतालाई फिल्मले उठान गरेको निर्देशक अन्जन शर्माले बताएका छन्। फिल्मका लेखकसमेत रहेका सहनिर्देशक काजी लिम्बूका अनुसार जदौ मनोरञ्जनमा मात्र सीमित छैन। जातीय भेदभाव र सामाजिक असमानताबीचको दूरी कम गर्ने सन्देशलाई पनि कथाको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको उनले बताएका छन्।
समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसंगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापाका साथै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायतको अभिनय रहेको छ।
प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द रहेको फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ। राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीले फिल्मका गीतमा स्वर दिएका छन्। गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेलको निर्माण तथा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माण रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छाया“कन तथा बनिष शाहको सम्पादन रहेको छ।











प्रतिक्रिया