जनसरोकारका विषय संसदमा प्रभावकारी रूपमा उठाउन नेता–कार्यकर्ता जानकार हुनुपर्छ : गगन थापा


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले संसदमा जनसरोकारका विषय प्रभावकारी रूपमा उठाउन पार्टीका नेता तथा कार्यकर्ता समसामयिक विषयमा जानकार र सुसूचित हुनुपर्ने बताएका छन्।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन यस्ता बौद्धिक तथा नीतिगत छलफल आवश्यक रहेको बताए।

उनले पार्टीका नेता–कार्यकर्ताले आर्थिक, सामाजिक तथा समसामयिक विषयमा पर्याप्त जानकारी राख्नुपर्नेमा जोड दिए। नयाँ विषयबारे निरन्तर अध्ययन र छलफलले पार्टीको नीति निर्माण तथा संसदमा प्रस्तुत हुने विषयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

सभापति थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले संसदमा निर्वाह गर्नुपर्ने निश्चित जिम्मेवारी रहेको उल्लेख गर्दै ती जिम्मेवारीलाई प्रभावकारी ढंगले पूरा गर्न गम्भीर तयारी आवश्यक रहेको बताए।

उनले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञान र छलफलले पार्टीका नेता–कार्यकर्तालाई विभिन्न विषयमा फराकिलो दृष्टिकोण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, कार्यक्रमका क्रममा उठेका विषय तथा सहभागीबाट प्राप्त सुझावलाई संसदमा समेत प्रस्तुत गरिने जानकारी दिए।

थापाले पार्टीका नेता तथा कार्यकर्तालाई केवल राजनीतिक विषयमा मात्र नभई अर्थतन्त्रलगायत नीतिगत र समसामयिक विषयमा समेत अध्ययनशील बन्न आग्रह गरे। यस्ता छलफलले कार्यकर्तामा नयाँ विषयप्रति रुचि र जिज्ञासा बढाउनुका साथै संसदीय जिम्मेवारी निर्वाह गर्न आवश्यक क्षमता विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।