काठमाडौँ ।
पुराना राजनीतिक दलको विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै सांसद र मन्त्रीका अभिव्यक्तिका कारण आलोचनाको केन्द्रमा पर्न थालेको छ । सुशासन, जवाफदेहिता, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको वाचा गर्दै ठूलो जनमतसहित सत्तामा पुगेको रास्वपाका केही सांसद तथा मन्त्रीका सार्वजनिक अभिव्यक्ति र व्यवहारले भने पार्टीले उठाउँदै आएको राजनीतिक संस्कारकै परीक्षा लिन थालेको छ ।
पछिल्लो समय मन्त्रीदेखि सांसदसम्मका विवादास्पद अभिव्यक्ति सार्वजनिक हुने क्रम बढेपछि पार्टी नेतृत्वसमेत आफ्ना जनप्रतिनिधिलाई अनुशासनमा राख्ने विषयमा गम्भीर हुन थालेको देखिन्छ । रास्वपाले सांसदहरूको भूमिका, सार्वजनिक अभिव्यक्ति र पार्टीसँगको सम्बन्धलाई व्यवस्थित गर्न आचारसंहिताको विषयलाई अघि सारेको छ । पार्टीको सांसद अभिमुखीकरण कार्यक्रममै तत्कालीन महासचिव कविन्द्र बुर्लाकोटीलगायतले सांसदहरूको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रशिक्षण दिने कार्यसूची राखिएको थियो । तर प्रश्न उठेको छ, आचारसंहिता बनाएपछि मात्र रास्वपाका सांसदहरूको बोली र व्यवहारमा सुधार आउँछ कि पार्टीभित्रै विकसित हुँदै गएको ‘बेलगाम राजनीतिक शैली’को उपचारका लागि अझ गहिरो संस्थागत सुधार आवश्यक छ ।
रास्वपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका सुनील लम्सालले निर्माणाधीन सडक आयोजनाको निरीक्षणका क्रममा काम नगर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउनुस्’ भन्ने आशयको अभिव्यक्ति दिएपछि व्यापक आलोचना भयो । त्यसपछि असारमा मन्त्री लम्सालकै अर्को अभिव्यक्ति सार्वजनिक भयो । उहाँले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिनुभएको थियो । संघीय शासन व्यवस्थामा तीन तहका सरकारबीच अधिकारको संवैधानिक बाँडफाँट रहेको अवस्थामा संघीय मन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई थुन्ने चेतावनी दिनु आफैँमा राजनीतिक तथा संवैधानिक बहसको विषय बन्यो ।
सरकारका मन्त्रीबाट आउने यस्तो भाषाले ‘कडा भएर काम गर्ने’ सन्देश दिन खोजेको हुन सक्छ । तर शासनमा कडाइ र कानुनी प्रक्रिया मिच्ने धम्कीबीचको सीमा निकै महत्वपूर्ण हुन्छ । आलोचकहरूको प्रश्न यही हो, राज्यको अधिकार प्रयोग गर्ने व्यक्तिले ‘कानुनअनुसार कारबाही हुन्छ’ भन्नुपर्ने ठाउँमा ‘थुन्छौँ’ वा ‘खुट्टा भाँच्नुस्’ भन्न थाल्दा त्यसले नयाँ राजनीतिक संस्कार कसरी निर्माण गर्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङका पछिल्ला गतिविधि र अभिव्यक्तिले पार्टीभित्रै असन्तुष्टि बढाउन थालेको छ । संसद्मा सभामुखसँगको विवाददेखि सामाजिक सञ्जालमा आक्रामक शैलीमा टिप्पणी गर्ने क्रम नरोकिएपछि उहाँको प्रस्तुति र सांसदको मर्यादामाथि प्रश्न उठ्न थालेको हो ।
पछिल्लो समय उहाँले संसद्मा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको भन्दै आलोचना गर्नुभएको थियो । तर, सार्वजनिक अभिलेख र संसदीय विवरणसँग उहाँको दाबी मेल नखाएको भन्दै उक्त अभिव्यक्तिको आलोचना भएको छ ।
तामाङ सामाजिक सञ्जालमा समेत निरन्तर विवादमा आउने गर्नुभएको छ । उहाँको अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको भए पनि अहिलेसम्म प्रहरी सोधपुछसमेत गरेको छैन । सांसद तामाङले अमेरिका बस्दै आएकी कुस्मा बुढाथोकीको नाममा रहेको चेकबाट १ करोड ३५ लाखको चेक काटेर बाउन्स बनाएपछि अहिले उक्त काण्डले हंगामा मच्चाएको छ ।
संसद्मा आत्मनिर्भरता र स्वदेशी उत्पादनको बहस चलिरहेका बेला उहाँले सामाजिक सञ्जालमा ‘सभामुखज्यूसँग आत्मनिर्भरको कुरा गर्न खोजेको माइक नै मेड इन इन्डिया लेखेको देखेँ’ भन्दै टिप्पणी गरेपछि त्यो भनाइसमेत विवादमा तानिएको छ ।रास्वपाका कैलाली–२ का सांसद केपी खनाल पनि सार्वजनिक भिडियोमा आएको अभिव्यक्तिका कारण विवादमा तानिनुभयो । लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा उहाँले प्रश्नकर्तातर्फ औँला ठड्याउँदै ‘कल्ले भन्यो प्रमाण छ, हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भयो ।
अस्पतालमा काम गर्ने वातावरण नभएको र सुरक्षा व्यवस्थाको माग राख्दै स्थानीयले सांसदसँग गुनासो गरिरहेको अवस्थामा सांसदबाट आएको यस्तो आक्रोशपूर्ण अभिव्यक्तिले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धमाथि प्रश्न उठाएको छ ।
सांसद खनालको विषयमा मात्र होइन, रास्वपाका कैयौँ सांसदका अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा आलोचना, व्यंग्य र ट्रोलको विषय बन्न थालेका छन् । जनप्रतिनिधिको एउटा भिडियो केही मिनेटमै हजारौँ मानिससम्म पुग्ने अवस्थामा सार्वजनिक पदमा बसेकाहरूले आफ्नो भाषा र व्यवहारमा थप संयमता अपनाउनुपर्ने माग बढिरहेको छ ।
रास्वपाका सांसद खगेन्द्र सुनार सबैभन्दा धेरै विवादमा तानिएका सांसदमध्ये एक हुनुहुन्छ । निर्वाचनअघि नै उहाँको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘गाई खान पाउनुपर्ने’ आशयको अभिव्यक्तिलाई लिएर विवाद भएपछि रास्वपाले त्यसबारे ध्यानाकर्षण भएको जनाएको थियो । पछि उक्त भिडियो पुरानो भएको र सन्दर्भ तोडमोड गरेर प्रसारित भएको दाबीसमेत सुनारले गर्नुभएको थियो ।
तर सांसद निर्वाचित भएपछि पनि उहाँको सार्वजनिक अभिव्यक्ति विवादमुक्त हुन सकेन । रास्वपा महाधिवेशनमा अन्य दलका नेताहरूलाई लक्षित गर्दै उहाँले ‘रवि दाइले अन्तिमपटक अनुहार देखाउन दलका नेता बोलाउनुभएको’ भन्ने आशयको टिप्पणी गरेपछि आलोचना भयो ।
त्यसैगरी सिन्धुली प्रकरणमा जिल्ला प्रशासन र प्रहरी नेतृत्वलाई लक्षित गर्दै ‘घिसार्ने’ आशयको धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएपछि उहाँ पुनः विवादमा तानिनुभयो । सांसद सुनारको पछिल्लो समय नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसँगको सार्वजनिक टकरावका कारण पनि विवादमा तानिनुभएको छ ।
प्रहरी संगठनसँग सम्बन्धित विषयमा संसदीय समितिको बैठकमा प्रश्न उठाउने क्रममा सुनारले आईजीपीप्रति आक्रोशपूर्ण शैली अपनाएपछि यो विषय विवादमा आएको हो । प्रहरी पोसाक खरिद तथा संगठनभित्रका गतिविधिबारे प्रश्न उठाउनु सांसदको अधिकार भए पनि प्रश्न गर्ने शैली र सार्वजनिक अभिव्यक्तिमा प्रयोग भएको भाषालाई लिएर आलोचना भएको छ ।
अभिव्यक्तिको शैलीलाई लिएर नागरिक अभियन्ता रक्षा बमले समेत सुनारको अभिव्यक्तिमा ‘शक्तिको मात र अहंकार’ झल्किएको टिप्पणी गर्नुभएको छ । उहाँले असहमति राख्ने अधिकार भए पनि अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।रास्वपा सभापति रवि लामिछानेले भने विवादित अभिव्यक्तिबारे पार्टीको अनुशासन आयोगले हेर्ने बताउनुभएको छ । उहाँले सार्वजनिक अभिव्यक्तिपछि क्षमा मागिएको भए त्यसबाट अरूले पनि सिक्नुपर्ने बताउनुभएको छ ।
रास्वपा सांसद टीका संग्रौला ‘ज्वाला’ पनि विभिन्न विवादका कारण सार्वजनिक चर्चामा रहँदै आउनुभएको छ । पत्रकार किशोर श्रेष्ठसँग सामाजिक सञ्जालमा भएको सार्वजनिक विवादले राजनीतिकर्मीको अभिव्यक्ति, पत्रकारिता र सामाजिक सञ्जालको मर्यादाबारे बहस जन्माएको थियो ।
महाधिवेशनका क्रममा आफ्नो परिचित नाम ‘ज्वाला’ मतपत्रबाट हटाइएको भन्दै उहाँले षड्यन्त्र भएको आरोप लगाउँदै पार्टी निर्वाचन आयोगमा उजुरीसमेत दिनुभएको थियो । पार्टीले भने उपनाम प्रयोगसम्बन्धी प्रक्रियाको विषय उठाएको थियो ।
उता सांसद राजु पाण्डेले महाधिवेशनका क्रममा ‘प्यानल बोकेर हिँड्ने साथीहरूलाई ठाउँको ठाउँ हराउनुपर्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको अर्को सार्वजनिक भूमिकामा भने विकास आयोजनामा हुने ढिलासुस्तीमाथि सरकारको ध्यानाकर्षण गराउने विषय पनि देखिन्छ । रास्वपाको समस्या केवल केही सांसदले बोलेका शब्दमा सीमित छैन । पार्टीभित्र आन्तरिक लोकतन्त्र, संगठन निर्माण, नेतृत्वको कार्यशैली र सत्तामा पुगेपछि आएको राजनीतिक व्यवहारसमेत बहसमा छन् ।
महाधिवेशनका क्रममा देखिएको अव्यवस्था, उम्मेदवारहरूको सार्वजनिक असन्तुष्टि र विभिन्न तहमा देखिएका मतभेदले पनि नयाँ दलभित्र संस्थागत संरचना अझै बलियो बन्न बाँकी रहेको देखाएको टिप्पणी हुन थालेको छ । राजनीतिशास्त्री कृष्ण प्याकुरेलले पनि रास्वपाको उदय पुरानो राजनीतिलाई मूल्य र मान्यताका आधारमा चुनौती दिने प्रक्रियाबाट भएको भन्दै अब ती मूल्य आफैँमा लागू गर्नुपर्ने बताउनुभएको छ ।
समाजशास्त्री डा. शुक्रराज अधिकारीको विश्लेषण अझ गम्भीर छ । उहाँले ‘पुराना फालेपछि सबै हुन्छ’ भन्ने जनअपेक्षा र राजनीतिक दलहरूले बाँडेको अत्यधिक सपनाबीच अहिले समस्या देखिएको बताउनुभयो । जनताको आकांक्षा तीव्र भए पनि राज्यको साधन–स्रोत सीमित रहेको उहाँको भनाइ छ । उहाँले राजनीतिक दललाई सांसदको चरित्र निर्माणमा लगानी गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभएको छ ।











प्रतिक्रिया