बुढाथोकी परिवारको प्रश्न, पैसा दिएको प्रमाण खोई


काठमाडौँ ।

सांसद आशिका तामाङले आफूले १ करोड ३५ लाख रुपैयाँको चेक लिएर ठगी गरेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । तर, तामाङको खण्डनपछि पीडित पक्ष कुश्मा बुढाथोकी परिवारले भने आफूहरूले उठाएका मूल प्रश्नको जवाफ नआएको भन्दै थप प्रमाणसहित सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

बुढाथोकी परिवारका अनुसार सानिमा बैंकमा रहेको कुश्मा बुढाथोकीको खातासँग सम्बन्धित चेक प्रयोग भएको र उक्त चेकबाट रकम भुक्तानीको प्रयास भएको विषयमा उनीहरूले सम्बन्धित निकायमा जानकारी गराउँदै आएका छन् । परिवारले चेकमा भएको हस्ताक्षर, लेखिएको नाम तथा रकमलगायतका विषयमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएको छ ।

परिवारको मुख्य प्रश्न भनेको यदि कुश्मा बुढाथोकी र सांसद तामाङबीच कुनै आर्थिक लेनदेन नै भएको भए कुन आधारमा भएको हो त्यो खुलाउन पनि चुनौती दिएको छ । कारोबार भएका अर्का आरोपित जीवनप्रसाद बाँस्कोटासँग रहेको चेक कसरी सांसदको हातमा पुग्यो त्यसको छानबिन गर्न नेपाल सरकारका सरोकारवाला निकायलाई आग्रह गरिएको छ ।

बुढाथोकी हाल अमेरिकामा रहेको परिवारको भनाइ छ । परिवारले सांसद तामाङसँग आफ्नो कुनै लेनदेन नभएको दाबी गर्दै आएको छ । यदि आफूहरूबीच आर्थिक कारोबार भएको दाबी हो भने कुन मितिमा, कति रकम र कुन माध्यमबाट रकम दिइएको थियो भन्ने स्पष्ट प्रमाण सार्वजनिक गर्नुपर्ने परिवारको माग छ ।

सांसद तामाङले आफूलाई पीडितका रूपमा प्रस्तुत गर्दै प्रकाशित समाचार खण्डन गर्न आग्रह गर्नुभएको छ । तर, बुढाथोकी परिवारले आफूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ नदिई समाचारलाई मात्र कपोलकल्पित वा आधारहीन भनिनुले घटनाको वास्तविकता थप अस्पष्ट बनाएको बताएको छ ।

परिवारले सानिमा बैंकसँग सम्बन्धित चेकको विषयलाई पनि गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने माग गरेको छ । उनीहरूको दाबीअनुसार उक्त चेक ओभरड्राफ्ट प्रकृतिको हो र त्यसको अधिकतम सीमा ४२ लाख रुपैयाँ रहेको अवस्थामा चेकमा १ करोड ३५ लाख रुपैयाँको रकम कसरी उल्लेख भयो भन्ने प्रश्न उठेको छ ।

चेकमा हस्ताक्षर भएको विषय स्वीकार गरेको भए पनि बुढाथोकी परिवारले चेकमा लेखिएको नाम र रकम आफूले नलेखेको दाबी गरेको छ । त्यसैले चेक कसले भ¥यो, रकम कसरी उल्लेख भयो र कुन प्रयोजनका लागि चेक प्रयोग भयो भन्ने विषयमा बैंकिङ कागजात र प्राविधिक परीक्षणबाट वास्तविकता बाहिर ल्याउनुपर्ने परिवारको माग छ ।

यसै विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिन खोज्दा प्रहरीले निवेदन नलिएको परिवारको आरोप छ । त्यसपछि गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकको सचिवालयलगायतका निकायमा इमेलमार्फत घटनाबारे जानकारी गराएको परिवारले जनाएको छ । तर, हालसम्म आफूहरूले न्याय पाउन नसकेको उनीहरूको गुनासो छ ।

सांसद तामाङले खण्डनपत्र पठाएपछि नेपाल समाचारपत्रले समेत तामाङसँग सम्पर्क गरी थप प्रतिक्रिया लिन खोजेको थियो । तर, सहयोगीमार्फत सांसदसँग सम्पर्क हुन सकेको छैन ।

बुढाथोकी परिवारले सांसद तामाङले आफूहरूसँग प्रत्यक्ष सम्पर्क नगरी एकपक्षीय रूपमा समाचार खण्डन गर्न आग्रह गरेको आरोप लगाएको छ । उनीहरूको प्रश्न छ । घटनासँग सम्बन्धित बैंक भौचर, स्टेटमेन्ट, चेक तथा अन्य कागजात सम्बन्धित निकायमा पेस गरिएको हो भने ती कागजातले के देखाउँछन् ? त्योसमेत उल्लेख गर्न आग्रह गरिएको छ ।

सांसद तामाङको खण्डनमा आफूले कागजात सम्बन्धित निकायमा पेस गरिसकेको उल्लेख गरिएको भए पनि रकम कुन प्रयोजनका लागि दिइएको थियो, कति रकम दिइएको थियो र कुन माध्यमबाट कारोबार भएको थियो भन्ने विषयमा स्पष्ट विवरण खुलाउनु भएको छैन ।
परिवारले यही विषयलाई घटनाको मुख्य प्रश्नका रूपमा उठाएको छ । उनीहरूका अनुसार कसैलाई आरोप लगाउनुभन्दा पनि चेकको वास्तविकता, बैंक कारोबार, रकमको स्रोत, चेक प्रयोगको उद्देश्य तथा दुवै पक्षबीच भएको भनिएको आर्थिक सम्बन्धबारे आधिकारिक निकायबाट निष्पक्ष अनुसन्धान हुन आवश्यक छ ।

उता, सांसद तामाङले भने आफूविरुद्ध प्रकाशित समाचारमा आफ्नो भनाइ र उपलब्ध प्रमाणलाई उचित स्थान नदिइएको भन्दै समाचार आधारहीन र कपोलकल्पित भएको दाबी गर्नु भएको छ । उहाँले समाचार खण्डन गर्न आग्रह गर्नु भएको छ ।

तर, बुढाथोकी परिवारले सांसदको खण्डनले आफूहरूले उठाएका प्रश्नको समाधान नगरेको बताउँदै सम्बन्धित प्रमाण सार्वजनिक गर्न चुनौती दिएको छ । विशेषगरी १ करोड ३५ लाख रुपैयाँको चेक, बैंक खाताको विवरण र लेनदेनबीचको सम्बन्ध कसरी स्थापित हुन्छ भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यस प्रकरणमा अर्को महत्वपूर्ण पक्ष पनि छ । सांसद तामाङले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको दाबी गर्नु भएको छ । यदि त्यस्तो कानुनी प्रक्रिया अघि बढेको हो भने कुन निकायमा, कुन विषयमा र के आधारमा प्रक्रिया अघि बढाइएको हो भन्ने विवरण सार्वजनिक हुनुपर्ने बुढाथोकी परिवारको माग छ ।

घटनामा कसको दाबी सही हो भन्ने अन्तिम निष्कर्ष अनुसन्धान र प्रमाणबाटै आउनेछ । तर, अहिले उठेको मूल प्रश्न भने चेक र बैंक कारोबारको वास्तविकता हो । त्यसैले सम्बन्धित बैंकका अभिलेख, चेकको परीक्षण, बैंक स्टेटमेन्ट, भुक्तानी प्रयासको विवरण तथा प्रहरीमा परेको भनिएको निवेदनको अवस्थाबारे निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।

सांसद तामाङले आरोप अस्वीकार गर्नु भएको छ भने बुढाथोकी परिवारले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै प्रमाणका आधारमा सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । यस अवस्थामा कुनै एक पक्षलाई दोषी ठहर गर्नुभन्दा पनि १ करोड ३५ लाख रुपैयाँको चेक आखिर कसरी र किन प्रयोग भयो, भन्ने प्रश्नको तथ्यगत जवाफ खोज्नु नै यो प्रकरणको सबैभन्दा महत्वपूर्ण विषय बनेको छ ।