चरिकोट।
दोलखा सदरमुकाम चरिकोटमा यो बर्षको लाखेनाच सुरु भएको छ । चरिकोटमा यो नाच गठेमङ्गल (घण्टाकर्ण) को पर्सिपल्ट साउन २८ गतेबाट सुरु भएको हो । कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले सुदर्शन चक्रले हानेर मारेपछि लाखेनाच अन्त्य हुने आयोजक लालिगुँरास युवा क्लब चरिकोटका सचिब मनकुमार (बिपिन) श्रेष्ठले बताए ।
चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गर्नु अघि गठेमङ्गलको दिन राति नाट्यश्वरीको पूजा गरी नेवार समुदाय र पाहुनाहरु समेत जम्मा भएर प्रसाद खाने प्रचलन रहेको छ ।
नाट्यश्वरीको पूजा गरेपछि परालको राक्षस बनाएर बाजा गाजासहित बजार घुमाउने र चोकमा ल्याएर उक्त परालको राक्षसलाई जलाउने प्रचलन समेत रहेको छ । घण्टाकर्ण राक्षसले बच्चलाई दुध दिने भएकोले यसरी सबैको अगाडि जलाउने गरिएको किंवदन्ति समेत पाईन्छ ।
कङ्सले कृष्णलाई मार्न पुतनालाई पठाएको तर उल्टै कृष्णलेनै पुतनालाई मारिदिएको पौराणीक कथावस्तुमा आधारीत भै चरिकोटमा २०१५-०१६ सालदेखि लाखेनाच प्रदर्शन गर्दै आएको चरिकोटका स्थानीय जेष्ठ समाजसेवी एवम् चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताए । यो नाच सांस्कृतिक सहर दोलखाको सिको गर्दै चरिकोटमा सुरु गरिएको जेष्ठ समाजसेवी रामदास श्रेष्ठको भनाई छ ।
लाखेलाई पुतनाको रुपमा हेरीने यो नाच गठेमङ्गलको दिन नाट्यस्वरीको पुजा गरेपछि मुख्य बजार क्षेत्रहरुमा प्रदर्शन गरिन्छ । यसको लागि लालिगुँरास युवा क्लबले नाच प्रदर्शन तालिका सार्वजनिक गरेको अध्यक्ष प्रविण श्रेष्ठले बताए । लाखे नाच प्रदर्शन हुने दिन बजार क्षेत्र र मुख्य गरी सातदोबाटो चोकमा सयौ मानिस भेला हुने गरेका छन् ।

सदरमुकाम चरिकोटमा झण्डै डेढ सय बर्ष अघिदेखि नेवार समुदायको बसोबास रहदै आएको स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ । कुनै लिखित दस्तावेज नभएपनि भक्तपुरको सुकुल ढोकाबाट काभ्रेपलाञ्चोक जिल्लाको नाङ्ग्रे हुँदै सुरुमा पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ अहिलेको पुरानो बजारमा आएर बसोबास गरेको इतिहास प्रचलनमा रहेको पाईन्छ । त्यसपछि भक्तपुरकै दत्तात्रयबाट ब्यापारको सिलसिलामा हरिकृष्ण श्रेष्ठ समेत आएपछि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबासमा वृद्धि हुँदै गएको थियो ।
त्यसैगरी कानुनी काम र ब्यापारको सिलसिलामा काभ्रेपलाञ्चोकबाट रामेछापको चिसापानी हुँदै ठाकुर दास श्रेष्ठ र धर्मदास श्रेष्ठ पनि चरिकोट आएका थिए ।
चरिकोट बजारमा नेवार समुदायको बसोवासमा वृद्धि हुँदै गएपछि त्यतिबेलाको संस्कृत प्रेमि युवाहरु नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ, टंक मास्के लगायतको अगुवा तथा अभिभावकहरु रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ लगायतको प्रेरणामा लाखेनाच, हिलेजात्रा, मारुनी नाच जस्ता सांस्कृतिक पर्वहरु मनाउदै आएको जेष्ठ समाजसेवी रामदास श्रेष्ठ बताउँछन् ।
चरिकोटमा लाखेनाचसंगै कृष्णलिला सम्बन्धि नाटक प्रदर्शन र अन्य सांस्कृतिक रौनक भित्राउने कुरामा दोलखा उद्योल बाणिज्य संघको संस्थापक अध्यक्ष दानबहादुर श्रेष्ठको समेत महत्त्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन् ।











प्रतिक्रिया