ककाकिकीको गीतमा महेश र रेखादेखि

गौरी र तृप्तिसम्मको जमघट


गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको झल्को दिने फिल्म ककाकिकीको शीर्ष गीत सार्वजनिक भएको छ।
आगामी भदौ १९ गते रिलिजमा आउने फिल्मको गीतमा यसका प्रमुख कलाकारहरूको जमघटसँगै गाउँले परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ। अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको गीतमा शब्द रचना सन्तोष सापकोटाको छ।

जर्सिङ पौवामा खिचिएको गीतको भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायतका फिल्मका कलाकार देखिन्छन्। भिडियोमा अर्जुन सापकोटासहित पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काको नृत्यसमेत समेटिएको छ। गीतको भिडियो मिग्मा डि लेप्चाले गीतको कोरियोग्राफी गरेका हुन्।

फिल्मको कथामै आधारित रहेर तयार पारिएको भिडियोमा गाउँमा हुने उत्सव र त्यस क्रममा देखिने सामूहिक खुसीलाई केन्द्रमा राखिएको छ। गीतले फिल्मको ग्रामीण परिवेश, पात्रहरूको सम्बन्ध र गाउँले जीवनशैलीको एउटा झलकसमेत दिएको छ। गीतको प्रस्तुति र कलाकारहरूको सहभागिताले फिल्मप्रति थप उत्सुकता बढाएको छ।

निर्देशक बिक्की अग्रवालका अनुसार शीर्ष गीतले फिल्मको कथाको परिवेश र त्यसमा रहेको उत्सवमय पक्षलाई प्रतिनिधित्व गर्छ। दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतका कलाकारले पनि अभिनय गरेको फिल्मको पटकथा निर्देशक अग्रवालस“गै सरोज भण्डारी र विकास अर्यालले तयार पारेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापाले निर्माण गरेको फिल्म सेभेन सिज इन्टरनेसनल फिल्म्स्ले विश्वव्यापी रूपमा रिलिज गर्दैछ।