ऋषभ पन्तले टेस्ट क्रिकेटमा १ सय छक्का प्रहार गरेर कीर्तिमान राखेका छन् । विकेटकीपर पन्त यो उपलब्धि हासिल गर्ने भारतका पहिलो क्रिकेटरसमेत बने । टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्म चार खेलाडीले १ सय छक्का पूरा गरेका छन् ।
यसअघि टेस्ट क्रिकेटमा १ सय छक्का प्रहार गर्ने तीन खेलाडीमा अस्टे«लियाका पूर्व विकेटकीपर एडाम गिलक्रिस्ट, इंग्ल्यान्डका पूर्व कप्तान बेन स्टोक्स र न्युजील्यान्ड पूर्व कप्तान बे्रेन्डान म्याककुलुम रहेका छन् ।
यसमध्ये स्टोक्सले टेस्टमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान राखेका छन् । हाल खेलाडी करिअरमा सक्रिय रहेका उनले १ सय ३८ छक्का प्रहार गरेका छन् । यसपछि म्याककुलुमले १ सय ७ छक्का तथा पन्त र गिलक्रिस्टले समान १ सय छक्का प्रहार गरेका छन् । हाल सक्रिय भएको हुँदा पन्तका लागि म्याककुलुम र गिलक्रिस्टभन्दा अगाडि जाने अवसर रहेको छ ।
पन्तले १ सय छक्का प्रहार गर्ने क्रममा कम बल खेलेका छन् । उनले ४ हजार ९१८ बलको सामना गरेका छन् । यस्तै, गिलक्रिस्टले ६ हजार ५७८ बल, स्टोक्सले ९ हजार ४२ बलको सामना गरेका छन् । १ सय छक्का प्रहार गर्ने क्रममा धेरै बलको सामना म्याककुलुमले गरे । उनले ९ हजार ७५६ बलको सामना गरेका थिए ।
को को यो उपलब्धिबाट वंचित भए ?
टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्म चार जना खेलाडीले मात्रै १ सय छक्का पूरा गरेका छन् । टेस्ट क्रिकेटमा आक्रमक खेल्ने ब्याटरहरू धेरै आए तर, १ सय छक्का प्रहार गर्ने मामिलामा भने उनीहरू सफल भएनन् । यो सूचीमा भारतीय आक्रमक ब्याटर वीरेन्द्र सेहवाग, वेस्ट इन्डिजका आक्रमक ब्याटर क्रिस गेलसमेत छन् । सेहवागले ९१ छक्का प्रहार गरेका थिए । उनी ९ छक्काबाट यो उपलब्धि पाउनबाट टाढा भए ।
गेलले त चौका १ हजारभन्दा बढी प्रहार गरेका थिए । तर, उनी १ सय छक्का प्रहार गर्न भने असमर्थ भएका थिए । उनले ९८ छक्का प्रहार गर्दा उनी २ छक्काले मात्रै यस उपलब्धि प्राप्त गर्न वंचित भएका थिए ।
हाल टेस्ट क्रिकेटमा सक्रिय रहेका खेलाडीहरूमा भने १ सय छक्का प्रहार गर्न कोही खेलाडी पनि नजिक छैनन् । भारतका रविन्द्र जडेजालाई १ सय छक्का प्रहार गर्न १८ छक्काको आवश्यक छ । यस्तै, अस्टे«लियाका दिग्गज खेलाडी स्टिभ स्मिथलाई यो उपलब्धिमा पुग्न ३२ छक्का प्रहार गर्नु पर्नेछ । इंग्ल्यान्डका हेरी ब्रुकलाई त ४५ छक्काको आवश्यक छ ।











प्रतिक्रिया