लमजुङ।
लमजुङमा पछिल्ला वर्षहरुमा जीवित शिशु जन्मदर निरन्तर घट्दै गएको पाइएको छ । जिल्लामा जन्मिने शिशुमध्ये छोरीको तुलनामा छोराको संख्या बढी रहेको तथ्यांकले देखाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा जिल्लामा ७ हजार ५ सय ५० जना छोरा र ६ हजार ५ सय ७५ जना छोरी जन्मिएका छन् । कुल जन्ममध्ये छोराको संख्या छोरीको तुलनामा करिब ६ प्रतिशत बढी हो ।
हरेक वर्षको तथ्यांकमा समेत छोरी जन्मिने संख्या छोराको तुलनामा कम देखिएको छ । आर्थिक वर्ष २०८२-८३ मा लमजुङमा ८ सय ११ जना जीवित शिशु जन्मिएका थिए । तीमध्ये ४ सय ३३ जना छोरा र ३ सय ७८ जना छोरी रहेका छन् ।
त्यसअघि आर्थिक वर्ष २०७८-७९ मा १ हजार ५ सय २४ जना जीवित शिशु जन्मिएकामा ८ सय ४ जना छोरा र ७ सय २० जना छोरी थिए । आर्थिक वर्ष २०७९-८० मा १ हजार ४ सय ४१ जना जीवित शिशु जन्मिएका थिए । तीमध्ये ७ सय ६६ जना छोरा र ६ सय ७५ जना छोरी थिए ।
त्यस्तै, आर्थिक वर्ष २०८०-८१ मा ६ सय ३३ जना छोरा र ५ सय ५१ जना छोरी गरी कुल १ हजार १ सय ८४ जना जीवित शिशु जन्मिएको तथ्यांक छ । आर्थिक वर्ष २०८१-८२ मा भने ५ सय ५८ जना छोरा र ४ सय ४३ जना छोरी जन्मिएका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका सहायक तथ्यांक अधिकृत लेखनाथ उपाध्यायका अनुसार जिल्लामा छोरा जन्मिने संख्यासँगै समग्र शिशु जन्मदर पनि वर्षेनी घट्दै गएको छ । जन्मदर घटिरहेको अवस्थामा जन्मिने शिशुमध्ये छोरीको संख्या पनि तुलनात्मक रुपमा कम देखिनुले भविष्यको जनसंख्याको लैंगिक संरचनामा असर पार्न सक्ने जनसंख्याविद्हरुले बताएका छन् ।
नेपालमा पछिल्ला वर्षहरुमा प्रजनन दर घट्दै गइरहेको अवस्थामा छोरीको जन्मसंख्या कम हुनु थप चिन्ताको विषय बनेको छ । छोरी जन्मिने क्रम निरन्तर घट्दै गए भविष्यमा विवाहयोग्य उमेर समूहमा लैंगिक असन्तुलन सिर्जना हुन सक्ने र त्यसको प्रभाव विवाह, पारिवारिक संरचना, सामाजिक सम्बन्ध तथा आर्थिक क्षेत्रमा समेत पर्न सक्ने विज्ञहरुको विश्लेषण छ ।
पितृसत्तात्मक सामाजिक संरचनाका कारण नेपाली समाजमा अझै पनि छोराप्रतिको मोह कायमै रहेको देखिन्छ । प्रविधिको बढ्दो पहुँचसँगै गर्भमै लिंग पहिचान गर्ने र छोरी भएको अवस्थामा गर्भपतन गराउने प्रवृत्तिले समेत लैंगिक असन्तुलनलाई थप बढावा दिन सक्ने विज्ञहरूको चिन्ता छ ।
जनसंख्याविद्हरुले छोरीको जन्मसंख्या कम हुनुलाई सामान्य प्राकृतिक प्रक्रिया भनेर मात्र बुझ्न नहुने बताएका छन् । प्राकृतिक रुपमा जन्मिने बालबालिकाको लैंगिक अनुपातमा केही अन्तर हुनु स्वाभाविक भए पनि अस्वाभाविक रुपमा छोराको संख्या बढ्दै जानु सामाजिक तथा सांस्कृतिक कारणसँग जोडिन सक्ने उनीहरूको तर्क छ ।
शिशु जन्मदर घट्दै जानु र जन्मिने शिशुमध्ये छोरीको संख्या तुलनात्मक रूपमा कम हुनु दीर्घकालमा जनसंख्याको संरचनाका लागि चुनौती बन्न सक्ने देखिन्छ। त्यसैले छोरीप्रतिको विभेद अन्त्य, सुरक्षित मातृत्व, प्रजनन अधिकारको संरक्षण तथा लैंगिक समानताका विषयमा राज्य र समाज दुवैले थप संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता देखिएको छ।
छोरी जन्मिनु बोझ नभई समाजको निरन्तरताका लागि अपरिहार्य पक्ष हो भन्ने चेतना विस्तार गर्न सके भविष्यमा देखिन सक्ने लैंगिक असन्तुलन र त्यसबाट उत्पन्न सामाजिक समस्यालाई न्यूनीकरण गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।











प्रतिक्रिया