जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि, गृहमन्त्री र ऊर्जामन्त्रीसहित विभिन्न व्यक्तित्वको सहभागिता (तस्बिरसहित)


काठमाडौँ।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टिमा गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।

श्रेष्ठको आइतबार राति ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो। पछिल्लो समय उनी अस्वस्थ रहँदै आएका थिए।

नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार श्रेष्ठले छ दशकभन्दा लामो समयदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा समेत कविता, गीतलगायत विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए।

नेपाल भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो।

श्रेष्ठ नेपाल भाषा साहित्यका चर्चित स्रष्टाका रूपमा स्थापित थिए। उनका सिर्जनामा भाषा, संस्कृति, समाज र जनजीवनका विषय प्रमुख रूपमा प्रतिबिम्बित हुने गरेका थिए। उनको निधनसँगै नेपाल भाषा साहित्य क्षेत्रमा एक महत्वपूर्ण स्रष्टाको अभाव भएको साहित्य क्षेत्रका व्यक्तिहरूले बताएका छन्।