विश्वविद्यालयमा गोली चल्यो: चार जनाको मृत्यु, नौ घाइते


काठमाडौं ।

फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी छन्। मृतकमध्ये गोली चलाउने विद्यार्थीसमेत रहेको आशंका गरिएको छ। मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति हाइस्कुलको चौथो वर्षमा अध्ययनरत पुरुष विद्यार्थी हुन्। उनका बुबा जाम्बोआंगा सिटीको कस्टम्स कार्यालयमा कार्यरत रहेको बताइएको छ।

घटनामा पेस्तोल र राइफल प्रयोग भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। ती हतियार विद्यार्थीले क्याम्पसमा कसरी प्रवेश गराउन सके भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनापछि फिलिपिन्सको शिक्षा विभागले गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित विद्यार्थी, उनीहरूका परिवार, विद्यालयका कर्मचारी तथा सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

विभागका अनुसार घटनाबाट प्रभावित विद्यार्थी तथा अन्य व्यक्तिलाई मनोवैज्ञानिक प्राथमिक सहायता र मनोसामाजिक सहयोग उपलब्ध गराउन मानसिक स्वास्थ्यसम्बन्धी साझेदार संस्थासँग समन्वय भइरहेको छ।

शिक्षा विभागले घटनासँग सम्बन्धित अपुष्ट सूचना फैलाउन तथा संवेदनशील तस्बिर, भिडियो वा विवरण सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। घटनामा नाबालिग विद्यार्थीसमेत संलग्न भएकाले उनीहरूको गोपनीयता र सुरक्षाको सम्मान गर्न पनि विभागले अपिल गरेको छ।

गोलीकाण्डपछि विश्वविद्यालय परिसरको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठेको छ। विशेषगरी विद्यार्थीले पेस्तोल र राइफलजस्ता हतियार क्याम्पसभित्र कसरी पुर्‍याए भन्ने विषय अनुसन्धानको प्रमुख केन्द्रमा रहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत कारण र गोली चलाउनुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ।