भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा


काठमाडौँ।

भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमवार शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको हो ।

सन् १९५० देखि नेपाल र भारतबीच दुई देशका प्रधान सेनापतिलाई एकअर्को देशमा मानार्थ महारथी दिने चलन चलिआएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले पनि गत मंसिरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुबाट भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसक्नु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा नेपालको चार दिने औपचारिक भ्रमणका लागि आइतबार पाँच सदस्यीय टोलीसहित काठमाडौँ आइपुग्नुभएको हो । उहाँले सोमवार बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा चढाउनुभएको थियो । टुँडिखेलको कार्यक्रम सकिएपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठले सम्मान तथा गारद ग्रहण गर्नुभएको थियो । त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ । भारतीय सेनाध्यक्ष सेठले जंगी अड्डामा नेपाली सेनाका लागि सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको बताइएको छ । तर उक्त सामग्रीहरूको परिमाणबारे जंगी अड्डाले केही खुलाएको छैन । यसअघिका भ्रमणमा पनि यस्ता सामग्री हस्तान्तरण हुँदै आएको छ ।