क्रिकेटको वानडे फरम्याटमा ५ हजार खेल सम्पन्न

0
Shares

काठमाडौं

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक कुनै फरम्याटमा ५ हजार खेल सम्पन्न भएको छ । यो उपलब्धि हासिल भयो वानडेमा (एकदिवसीय फरम्याट) । गत साता अगस्ट ७ मा ५ हजारौं वानडे खेल भएको थियो । यो खेल आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड र क्यानडाबीच खेलिएको हो । यस ऐतिहासिक खेलमा स्कटल्यान्ड ९ रनले जितेको हो ।

वानडे फरम्याट टेस्ट क्रिकेट (५ दिनको खेल) शुरू भएको ९४ वर्षपछि सन् १९७१ मा सुरुआत भएको थियो । टेस्टमा अहिलेसम्म ३ हजार खेल पनि पूरा हुन सकेको छैन । तर, टेस्ट सुरु भएको ९ दशकपछि सुरु भएको वानडेले भने ५ हजार खेल पूरा गर्न सफल भइसक्यो । यसको मतलब क्रिकेटको फरम्याटमा ५० ओभरको खेल अझै लोकप्रियतामा रहेको छ ।

सन् १९७१ देखि अहिलेसम्म ५५ वर्षमा २९ राष्ट्रका क्रिकेट टोलीले वानडे खेलिसकेको छ । जसमा, नेपाल पनि पर्दछ । यही फरम्याटले पनि विश्वकपको अवधारणा विकसित गरिएको हो । वानडेको विकास भएको ४ वर्षपछि सन् १९७५ मा विश्वकपको थालनी भएको थियो ।

क्रिकेटमा पहिलो फरम्याट टेस्ट हो । सन् १८७७ मा टेस्ट खेल खेलिएको थियो । टेस्टमा ५ दिन लगातार खेलिन्थ्यो र अहिले पनि यही परम्परा चलिरहेको छ । यसमा कुनै हेरफेर भएको छैन । अहिलेसम्म टेस्ट क्रिकेटमा २६ सय ३१ खेल भइसकेको छ । तर, फास्ट खेलको अवधारणामा विकसित भएको टी २० ले भने अहिले टेस्ट र वानडेलाई चुनौती दिइरहेको छ । सन् २००४ मा विकास भएको टी २० फरम्याटमा अहिलेसम्म ४ हजार ५८ खेल सम्पन्न भइसकेको छ ।
कसले कति खेल्यो ?

वानडे फरम्याटमा अहिलेसम्म सर्बाधिक खेल्ने टोली भारत हो । भारतले अहिलेसम्म १ हजार ८१ खेल खेलेको छ । यसपछि अस्टे«लियाले १ हजार २५ खेल खेलिसकेको छ । तेस्रो स्थानमा पाकिस्तान रहेको छ । जसले १ हजार २ खेल खेलेको छ ।

यसपछि भने एक हजार खेलभन्दा कम खेलेका टोलीहरू रहेका छन् । जसमा, श्रीलंका (९४५), वेस्ट इन्डिज (९०४), न्यूजील्यान्ड (८५८), इंग्ल्यान्ड (८२६), दक्षिण अफ्रिका (६९८), जिम्बावे (५८६) र बंगलादेश (४६७) क्रमैसँग रहेका छन् ।

नेपालले पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । तथ्यांकअनुसार नेपालले अहिलेसम्म ९३ एकदिवसीय (वानडे) खेलेको छ । नेपालले अगस्ट २०१८ देखि वानडे खेल्न सुरु गरेको हो । नेपाल वानडेको विश्वकप पहिलोपटक खेल्न संघर्षरत छ । तर, टी २० फरम्याटको विश्वकप भने नेपालले तीन पटक खेलिसकेको छ ।
विश्वकपमा अस्टे«लियाको वर्चश्व

वानडे विश्वकपमा अस्टे«लियाको वर्चश्व रहेको छ । पुरुष र महिला दुबै टोलीले वानडे विश्वकपमा सर्वाधिक उपाधि जितेको छ । पुरुषतर्फको विश्वकप अहिलेसम्म १३ संस्करण सम्पन्न भइसक्दा अस्टे«लियाले ६ पटक उपाधि जितेको छ । जबकी दोस्रो स्थानमा रहेको भारत र वेस्ट इन्डिजले २–२ पटक मात्रै उपाधि जित्न सकेका छन् ।

यसैगरी महिलातर्फको वानडे विश्वकपमा पनि १३ संस्करण सम्पन्न भइसकेको छ । यसमा पनि अस्टे«लियाले नै सर्वाधिक उपाधि जितेको छ । अस्टे«लियाले रेकर्ड ७ पटक विश्वकप उपाधि जितेको छ ।

वानडेमा व्यक्तिगत रेकर्डहरू

–भारतका सचिन तेन्दुलकरले सर्वाधिक ४ सय ६३ खेल खेलेका छन् ।

–सचिनले नै सर्वाधिक रन १८ हजार ४२६ रन बनाएका छन् ।

–सर्वाधिक शतक पनि भारतकै खेलाडीको नाममा छ । विराट कोहलीले सर्वाधिक ५४ शतक प्रहार गरेका छन् ।

–उच्चतम रनको रेकर्ड पनि भारतकै खेलाडीले राखेका छन् । रोहित शर्माले २ सय ६४ रनको उच्चतम व्यक्तिगत रेकर्ड राखेका हुन् । उनले यो रेकर्ड श्रीलंकाविरुद्ध सन् २०१४ मा राखेका थिए ।

–सर्वाधिक विकेट लिने रेकर्ड भने श्रीलंकाका बलर मुथैया मुरलीधरणको नाममा रहेको छ । उनले ३ सय ५० खेलमा सर्वाधिक ५ सय ३४ विकेट लिएका हुन् ।