काठमाडौं।
ललितपुर महानगरपालिकाले नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
सोमबार आयोजित एक समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा महानगरपालिकाले उक्त सेवाको औपचारिक शुभारम्भ गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्याउनुअघि नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए।
उनका अनुसार एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा बिरामीलाई आवश्यक प्राथमिक उपचार, जीवनरक्षक सेवा तथा स्वास्थ्य निगरानी प्रदान गरिनेछ। यसले गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म सुरक्षित रूपमा पुर्याउन तथा उपचारमा हुने ढिलाइका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
महानगरपालिकाले सञ्चालनमा ल्याएको यस सेवाका लागि सर्वसाधारणले निःशुल्क टेलिफोन नम्बर ११३१ मा सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ।
महानगरपालिकाका अनुसार चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनसँगै आकस्मिक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउँदै समयमै उपचार पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, दुर्घटना, हृदयघात, स्ट्रोकलगायतका जटिल अवस्थामा अस्पताल पुग्नुअघि नै आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउन सकिने भएकाले महानगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।











प्रतिक्रिया