–संस्थापन इतरले १५औँ महाधिवेशनका लागि कोइरालालाई अघि सार्यो
–देउवा नेतृत्वमै महाधिवेशन गर्ने निर्णय, विभाजनभन्दा एकतामा जोड
–खड्काको अनुपस्थिति र धर्मसम्बन्धी विवादले कांग्रेसभित्रको शक्ति संघर्ष उजागर
धर्मसम्बन्धी प्रस्तावमा निधि–महतबीच विवाद
– प्रस्तावको भाषा र धार्मिक स्वतन्त्रताबारे नेताहरुबीच मञ्चमै कागज खोसाखोसको अवस्था सिर्जना । भेलाले सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडेर प्रस्ताव पारित ग¥यो ।
काठमाडौँ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई आगामी राजनीतिक नेतृत्वका लागि अघि सारेको छ । काठमाडौँमा तीन दिनसम्म चलेको राष्ट्रिय भेलाको समापनसँगै इतर समूहले कोइरालालाई पार्टीभित्र समन्वयकारी भूमिकासहित अघि बढाउने निर्णय गरेको हो ।
भेलाबाट पारित पाँचबुँदे प्रस्तावमा १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि, राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले सभापति शेरबहादुर देउवाको निर्देशनमा संयोजन गर्ने उल्लेख गरिएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न गर्ने प्रस्तावमा उल्लेख छ ।
यही निर्णयसँगै राष्ट्रिय भेलाका संयोजक रहेका डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने महत्वपूर्ण जिम्मेवारी दिइएको छ । यसअघि संस्थापनइतर समूहको नेतृत्व कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्काले गर्दै आउनुभएको थियो । तर, तीन दिनसम्म चलेको भेलाको समापन समारोहमा खड्का सहभागी हुनुभएन ।
खड्काले देउवा पक्षसँग निकट रहेर लामो समयदेखि पार्टीभित्र भूमिका निर्वाह गर्दै आउनुभएको भए पनि पछिल्लो समय उहाँ स्वयं देउवा समूहसँग असन्तुष्ट रहेको नेताहरू बताउँछन् । इतर समूहभित्र आफूले नेतृत्वदायी भूमिका पाउनुपर्ने अपेक्षा राख्दै आउनुभएका खड्का शशांक कोइरालालाई अघि सार्ने निर्णयपछि थप असन्तुष्ट बन्नुभएको देखिन्छ ।
जेनजी आन्दोलनपछि सभापति देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने सङ्केत गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र औपचारिकभन्दा बढी अनौपचारिक विभाजनको अवस्था सिर्जना भएको थियो । त्यसयता इतर समूहको नेतृत्व खड्काले गर्दै आउनुभएको थियो।
तीन दिनसम्म चलेको राष्ट्रिय भेलाले भने पार्टी विभाजनको बाटो रोज्नुभन्दा एकता र संस्थागत समाधानमा जोड दिएको छ । भेलाबाट नेतृत्वका रूपमा अघि सारिनुभएका डा. कोइरालाले पार्टीलाई विभाजन गर्नुभन्दा सकेसम्म एकताबद्ध बनाएर अघि बढ्ने भेलाको म्यान्डेट रहेको बताउनुभएको छ ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो उद्देश्य पार्टी विभाजन गर्नु होइन, सकेसम्म पार्टीलाई एक बनाएर लैजाने भेलाको म्यान्डेट छ । अब संस्थापन पक्षले के भन्छ, त्यसमा भर पर्छ ।’

यसैबीच देउवा समूहको भेलामा धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा नेताहरूबीच मञ्चमै विवाद भएको छ । प्रस्ताव पारित गर्ने क्रममा नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच कागज खोसाखोसको अवस्थासमेत सिर्जना भएको थियो ।
नेता दीपक कुइँकेलले भेलाबाट पारित हुने प्रस्ताव रोस्ट्रमबाट प्रस्तुत गरिरहँदा निधि उठेर रोस्ट्रमतर्फ जानुभएको थियो । त्यस क्रममा निधि र महतबीच प्रस्तावको कागजलाई लिएर विवाद भएको थियो । महतले निधिलाई रोक्दै पुनः मञ्चमा फर्काउनुभएको थियो ।
उनीहरूबीचको विवाद विशेषगरी धर्मसम्बन्धी प्रस्तावको भाषालाई लिएर भएको थियो । प्रकाशशरण महतलगायत नेताहरूले तयार गरेको प्रस्तावमा नेपालमा सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समेटिएको थियो । त्यसमा निधिको आपत्ति थियो । निधि धार्मिक स्वतन्त्रताको विषयलाई स्पष्ट रूपमा राखेर त्यसैमा सीमित हुनुपर्ने पक्षमा हुनुहुन्थ्यो । कांग्रेसले यसअघि नेपाललाई धार्मिक स्वतन्त्रताको पक्षमा उभ्याउँदै आएको भन्दै प्रस्तावमा त्यसबाहेकको व्याख्या आवश्यक नरहेको उहाँको धारणा थियो ।
तर, भेलाले सनातन धर्म र संस्कृतिलाई नेपालको राष्ट्रिय पहिचानसँग जोडेर प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चिततासँगै हिन्दु, बौद्ध, किरात र प्रकृतिपूजक धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भेलामा सभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको बताउँदै सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
तीन दिनसम्म चलेको कांग्रेसको राष्ट्रिय भेलाको मूल सन्देश भने पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन गर्दै १५औँ महाधिवेशनतर्फ अघि बढ्ने देखिएको छ । संस्थापनइतर समूहले शशांक कोइरालालाई अघि सार्नुले पार्टीभित्र नयाँ शक्ति समीकरणको सङ्केत गरे पनि तत्कालै अर्को विभाजनको बाटो रोज्नेभन्दा संवाद र सहमतिलाई प्राथमिकता दिएको देखिन्छ ।
तर, देउवा समूहभित्रै नेतृत्वको विषयमा देखिएको असन्तुष्टि, खड्काको अनुपस्थिति र धर्मसम्बन्धी प्रस्तावमा नेताहरूबीच देखिएको मतभेदले कांग्रेसको आन्तरिक विवाद अझै समाप्त नभएको स्पष्ट पारेको छ ।
अब १५औँ महाधिवेशनसम्म पार्टीलाई कसरी एकताबद्ध राख्ने र नेतृत्व हस्तान्तरणको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती कांग्रेससामु छ । शशांक कोइरालालाई दिइएको जिम्मेवारीले पार्टीभित्र संवादको नयाँ ढोका खोल्छ वा थप शक्ति संघर्षको आधार बन्छ भन्ने कुरा अब संस्थापन पक्षको प्रतिक्रियामा निर्भर हुनेछ ।
तीनदिने भेलाको निष्कर्षले कम्तीमा एउटा कुरा स्पष्ट पारेको छ, कांग्रेसभित्र नेतृत्वको बहस अब केवल देउवा र उहाँका सम्भावित उत्तराधिकारीबीचको प्रतिस्पर्धामा सीमित छैन; पार्टीको भावी दिशा, वैचारिक पहिचान र संगठनात्मक एकताको प्रश्न पनि त्यत्तिकै निर्णायक बनेको छ ।











प्रतिक्रिया