काठमाडौँ ।
गम्भीर जलन (बर्न) भएका बिरामीको उपचारमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भए पनि नेपालमा अझै पनि आधुनिक बर्न युनिट, स्किन बैंक र स्वास्थ्य बीमाको अभावका कारण धेरै बिरामीले समयमै गुणस्तरीय उपचार पाउन नसकेको विज्ञहरूले बताएका छन् ।
काठमाडौँमा आयोजित ‘उन्नत बर्न उपचार तथा रोबोटिक शल्यक्रिया’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भारतको अपोलो अस्पतालका वरिष्ठ बर्न तथा पुनर्निर्माण शल्यचिकित्सक डा. कुलदीप सिंह र वरिष्ठ रोबोटिक तथा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जन डा. अरुण प्रसादले नेपालमा बर्न उपचारको क्षमता विस्तार, स्किन दानबारे जनचेतना र नेपाल–भारतबीच प्राविधिक सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् ।
डा. कुलदीप सिंहले गम्भीर बर्न भएका बिरामीको उपचारमा सबैभन्दा ठूलो चुनौती संक्रमण नियन्त्रण र शरीरको जलेको भाग छिटो पुनःस्थापना गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार छाला शरीरको प्राकृतिक सुरक्षा कवच भएकाले शरीरको ठूलो भाग जलेपछि पानीको सन्तुलन बिग्रिने, संक्रमण फैलिने र बहुअङ्ग असफल हुने जोखिम अत्यधिक हुन्छ । उहाँले शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेकी २१ वर्षीया भुटानी महिला बक्सरको सफल उपचारको अनुभव सुनाउँदै एउटै बिरामीको उपचारमा १२ भन्दा बढी शल्यक्रिया, पटक–पटक स्किन ग्राफ्टिङ, कोलोस्टोमी, कृत्रिम पोषण, रक्तसञ्चार, संक्रमण नियन्त्रण र पुनःस्थापनासहित बहुविषयगत उपचार आवश्यक परेको बताउनुभयो ।
उहाँका अनुसार गम्भीर बर्न भएका बिरामीको उपचारमा मृतक दाताबाट प्राप्त छालाले जीवनरक्षक भूमिका खेल्छ । बिरामीको आफ्नै छाला पर्याप्त नहुँदा मृतक दाताबाट सङ्कलित छालाले अस्थायी सुरक्षा प्रदान गर्छ र त्यसको तल बिरामीकै नयाँ छाला विस्तारै विकास हुँदै जान्छ । डा. सिंहले भारतमा हाल २९ वटा स्किन बैंक सञ्चालनमा रहेको जानकारी दिँदै नेपालमा पनि स्किन बैंक स्थापना र विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘जति धेरै स्किन दान हुन्छ, त्यति धेरै गम्भीर बर्न भएका बिरामीको ज्यान बचाउन सकिन्छ’ –उहाँले भन्नुभयो ।
उहाँका अनुसार स्किन दानका लागि कुनै निश्चित उमेरको सीमा छैन । सङ्क्रामक रोग नभएका व्यक्तिले मृत्यु भएको छ घण्टाभित्र छाला दान गर्न सक्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । सङ्कलित छालालाई भाइरल संक्रमण तथा जीवाणु परीक्षणपछि विशेष तापक्रममा करिब छ महिनासम्म सुरक्षित राख्न सकिन्छ ।
डा. सिंहले उपचारभन्दा बर्न रोकथामलाई अझ प्रभावकारी उपायका रूपमा प्रस्तुत गर्नुभयो । अमेरिका, बेलायतलगायत विकसित मुलुकले विद्यालयस्तरदेखि आगोबाट बच्ने व्यवहार सिकाउने, आगो प्रतिरोधी कपडाको प्रयोग अनिवार्य गर्ने र एकीकृत बर्न केन्द्र स्थापना गर्ने नीतिका कारण बर्नका घटना उल्लेखनीय रूपमा घटेको उदाहरण उहाँले दिनुभयो । ‘विश्वका करिब ९० प्रतिशत बर्नका घटना अहिले पनि एसिया तथा न्यून र मध्यम आय भएका देशहरूमा हुने गरेका छन् । त्यसैले हाम्रो प्राथमिकता रोकथाम र जनचेतना हुनुपर्छ’ –उहाँले भन्नुभयो ।
उपचारको आर्थिक पक्षबारे बोल्दै उहाँले गम्भीर बर्न भएका बिरामीको उपचार अत्यन्त महँगो हुने बताउनुभयो । ३०–४० प्रतिशतसम्म बर्न भएका बिरामीको उपचारमै १०–१५ लाख भारतीय रुपैयाँसम्म खर्च हुने र धेरै जटिल अवस्थामा उपचार खर्च एक करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने उहाँको भनाइ थियो । कुल उपचार खर्चको करिब ७५ प्रतिशत औषधी, रगत, प्रयोगशाला परीक्षण, पोषण र स्किन उपचारमै खर्च हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा अपोलो अस्पतालका वरिष्ठ रोबोटिक सर्जन डा. अरुण प्रसादले नेपाल र भारतबीच आधुनिक शल्यचिकित्सा प्रविधिमा सहकार्य विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका अधिकांश शल्यचिकित्सकले करिब ९५ प्रतिशत शल्यक्रिया सफलतापूर्वक गर्न सक्ने क्षमता राख्छन् । अत्याधुनिक प्रविधि र तालिम उपलब्ध गराउन सके बाँकी जटिल शल्यक्रियासमेत नेपालमै सम्भव हुने उहाँको विश्वास छ ।
डा. प्रसादले आगामी जनवरीतिर नेपालमा रोबोटिक शल्यक्रियासम्बन्धी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै नेपाली चिकित्सकलाई भारतमा क्याडाभरमा आधारित व्यावहारिक तालिम दिने योजना रहेको बताउनुभयो । उहाँले अपोलो अस्पतालको उद्देश्य केवल बिरामी भित्र्याउने नभई आधुनिक प्रविधिबारे जनचेतना फैलाउने र नेपालका चिकित्सकसँग दीर्घकालीन प्राविधिक सहकार्य विकास गर्ने रहेको स्पष्ट पार्नुभयो । ‘प्रविधि मानिसका लागि बनेको हो । यसको लाभ सकेसम्म धेरै बिरामीले पाउनुपर्छ । त्यसका लागि जानकारी, तालिम र सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ’ –उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले नेपालमा स्किन बैंक स्थापना, स्वास्थ्य बीमाको विस्तार र बर्न उपचारको पहुँचबारे प्रश्न उठाएका थिए । जवाफमा दुवै विशेषज्ञले ४० प्रतिशतसम्म बर्न भएका अधिकांश बिरामीको उपचार राम्रो बर्न युनिटमार्फत स्किन बैंकबिनै सफलतापूर्वक गर्न सकिने, तर शरीरको ठूलो भाग जलेका बिरामीका लागि स्किन बैंक अपरिहार्य हुने बताए ।
उनीहरूले नेपालमा आधुनिक बर्न युनिटको सुदृढीकरण, स्किन दानबारे जनचेतना अभिवृद्धि, स्वास्थ्य बीमाको पहुँच विस्तार तथा नेपाल–भारतबीच प्राविधिक सहकार्यलाई प्राथमिकता दिन सके गम्भीर बर्न भएका बिरामीको उपचार परिणाममा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया