–समस्या समाधान गर्ने आश्वासन
काठमाडौँं ।
बाँदर आतङ्कको विषय संसद्मा प्रवेश भएको तीन महिनापछि राजधानीमा बाँदरले दुःख दिएको सवाल भित्रिएको छ । बाँदरसँग आफूहरू जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयवासीले बाँदर व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
सरकारले बाँदर नियन्त्रण गर्ने विषयमा खासै चासो नदेखाएको अवस्थामा राजधानीवासीले तत्काल बाँदर आतङ्क व्यवस्थापन गरी बासस्थान सुरक्षित गर्न काठमाडौँ महानगरपालिकासँग अनुरोध गरेको हो । उनीहरूले कार्यवाहक प्रमुख सुनिता डंगोललाई बाँदरसँग सम्बन्धित मर्का सुनाएका थिए । ‘छिनछिनमा आतङ्क मच्चाउँछन् । हुलका हुल, बथानका बथान घरभित्र छिर्छन् । एकपटक घरमा पस्यो भने ५ देखि १० हजार रुपियाँसम्मको क्षति गर्छन्’ –कावा मेयर डंगोलसँग स्थानीयले गुनासो गरे ।
वडा अध्यक्ष ईश्वरमानसिंह डंगोलसँगै मेयर भेट्न आएका स्थानीयले घरबाट फलफूलको बास्ना आयो भने त झन् उग्र हुने बताएका थिए । ‘जसरी पनि घरभित्र छिर्न खोज्छन् हामीलाई त मार्लान्झैँ गर्छन्’, बाँदर र मानवबीचको द्वन्द्व सुनाउँदै स्थानीयले गुनासो गरे–‘अरू मानिसहरू चिडियाखानामा गएर तारबारभित्रका जंगली जनावर हेर्छन् । हामी स्वयम्भूबासीचाहिँ घरमा तारबार गरेर भित्र छौँ । हामीलाई बाँदरले बाहिरबाट घरमा भए नभएको हेर्छन् । हामी बाँदर विरोधी होइनौँ । ती बाँदर मास्नुपर्छ भन्ने होइन । तर, उनीहरूको आतङ्कमा बस्न सक्ने अवस्थामा रहेनौँ । यसकारण व्यवस्थापन नगरी हुँदैन ।’
स्थानीयको गुनासो सुनेलगत्तै कार्यवाहक मेयर डंगोलले बाँदर मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर दिगो समाधान खोज्नुपर्ने बताउनुभयो । ‘अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमुना कार्यक्रम थालनी गरौँ । अध्ययन गरेर कार्ययोजनाका साथ द्वन्द्व व्यवस्थापनको काम गरौँ । यसले दिगोपना प्रदान गर्नेछ’ –उहाँको उत्तर थियो ।
‘बाँदर व्यवस्थापनलाई हेर्ने दृष्टिकोण फरकफरक भएकाले यसअघि विभिन्न चरणमा वडा स्तरमा गरिएका छलफलले निष्कर्ष दिन सकेन’, वडा नं १५ का अध्यक्ष ईश्वरमान सिंह डंगोलले भन्नुभयो– ‘कार्यविधि बनाउने प्रयास पनि गरेका थियौँ । व्यवस्थापनको काम संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्ने प्रश्नको जवाफ पत्ता लगाउन नसकेर कार्यविधि पनि बनाउन सकिएन । अब महानगरपालिकाबाट यसको समाधान आउने कुरामा विश्वस्त छौँ ।’
राजधानीमा पशुपतिनाथ र गुह्ेश्वरी परिसर, सिनामंगल, बत्तीसपुतली, त्रिपुरेश्वर, हनुमानढोकालगायत दर्जनबढी क्षेत्रमा बाँदर आतङ्क छ । ‘त्रिपुरेश्वर क्षेत्रका बाँदर रातो रंगप्रति आक्रामक छन् । बाटो हिँड्नेलाई चिथोर्ने, टोक्ने गर्छन्’, थापाथली तथा त्रिपुरेश्वर क्षेत्रमा बाँदरले दिएको समस्या सुनाउँदै वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो– ‘समाधान नदिने तर समस्या मात्र देखाइरहने विज्ञका कारण काम गर्न सकिएन ।’
बैठकमा प्रस्तुतीकरण गर्दै स्थानीय श्याम प्रधानले अहिले स्वयम्भू क्षेत्रमा १० समूहमा करिब १ हजार ७ सयको सङ्ख्यामा बाँदर रहेको जानकारी दिनुभयो । उहाँले गएको कोभिड २०७५÷७६ तिर झण्डै १ हजार २० वटा, २०८०÷८१ मा करिब १ हजार १७९ वटा बाँदर भएकामा अहिले ह्वात्तै बढेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार यहाँ पाइने बाँदर ओल्ड वल्र्ड प्रजातिका हुन् ।
छलफलमा बाँदर बसोबासको अनुकूल वातावरणका विषयमा छलफल गर्दै, पानीसँगको सामीप्यता उनीहरूको आधारभूत आवश्यकता भएको बताउँदै उहाँले भन्नुभयो– ‘उनीहरू खान पाउञ्जेल शान्त रहन्छन् । खान नपाए आक्रामक बन्छन् । टोक्नुपर्ने, चपाउनुपर्ने खानेकुरामा उनीहरूको रुचि हुन्छ । उनीहरू विभिन्न खालका किरा पनि खान्छन् ।’
मान्छे जस्तै गरेर बाँदरलाई अनुहारका आधारमा पहिचान गर्न सकिन्छ । बाँदर व्यवस्थापनको कुरा गर्दै बैठकमा स्वयम्भू क्षेत्रका विभिन्न ठाउँमा जमिनको स्वरूप, रुख तथा बिरुवाको जीवन नबिगारी केज बनाउन सकिने र यसमा उनीहरूको रुचिअनुसारका जीवन दिएर व्यवस्थापन गर्न सकिने सुझाव दिइएको छ ।
पछिल्लो समय बाँदर आतङ्कले गाउँघरदेखि राजधानी काठमाडौँलाई समेत बाँकी राखेको छैन । राजधानीमा पशुपति र स्वयम्भूजस्ता क्षेत्रमा बाँदरले उपद्रो मच्चाइरहेका हुन्छन् । ती क्षेत्र आसपासका बासिन्दा भान्सा, बगैँचा र फलफूल जोगाउन दिनरात नभनी जाग्राम बस्नुपर्ने स्थिति छ । जग्गाजमिनको अभाव भएकाले काठमाडौँमा कौसीखेतीको चलन छ । तर निगरानी नराख्ने हो भने बाँदरले कौसीमा लगाएका बोटबिरुवा पनि बाँकी राख्दैनन् ।
बाँदरपीडितका अनुसार बाँदरले भेटेका खानेकुरा खाने मात्रै नभई अरू उपद्रो गर्छन् । बाहिर राखेका जुत्ताचप्पल लैजान्छन् । छतमा सुकाएको लुगा पनि लैजान्छन् । ‘छतको धारा खोलेरै पानी खान्छन् । खोल्न जान्दछन् तर बन्द गर्न जान्दैनन् ।
बाँदर आतङ्कले हैरान राजधानीवासीको समस्या समाधान गर्न कामपाले योजना ल्याउने तयारी गरेको छ । ग्रामीण क्षेत्रमा बाँदरले बसिखान नदिएपछि पछिल्लो समय बसाइँसराइँ बढेको छ ।
बाँदर आतङ्क देशभरका किसानका लागि विकराल साझा समस्याका रूपमा देखा परेको छ । बारी बाँझो राखेर जायजेथा छाडेर सहर छिर्न बाध्य भएका छन् । राजधानीका वरपरका स्थानीयले मकै लगाउन छाडिसेका छन् । बाँदरलाई मननपर्ने फलफूलजन्य रुख बिरुवा लगाएर सुरक्षित बस्न खोजेका छन् ।
बाँदर नियन्त्रणको बारेमा केही वर्षदेखि संसद्मा बहस हुँदै आएको छ । ०८० माघमा बाँदरको सङ्ख्या नियन्त्रण गर्न संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सहकार्यमा नेपाली प्राविधिकहरूको टोली भारतको हिमाञ्चल पुगेको थियो । प्रतिनिधिसभा बैठकमा बाँदर नियन्त्रणको विषय मुख्य रूपमा छलफल भएको थियो । नेताहरूले पनि केही समय अगाडि सम्पन्न निर्वाचनमा गाउँमा बाँदर व्यवस्थापन गर्ने आश्वासन दिएर भोट मागेका थिए ।
नेकपा (एमाले) धनकुटाका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधि सभा बैठकमा एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रण गर्न ठोस कदम नचाल्ने हो भने संसद् बैठक नै चल्न नदिने कडा चेतावनी दिनुभएको थियो । सांसद ध्रुवराज राईले ‘बाँदरलाई मार्न पाउनुपर्ने सम्मको अभिव्यक्ति दिनुभएको थियो । देशका विभिन्न प्रदेशबाट किसानहरूको डेलिगेसन नै सरकारसमक्ष पुगेर बाँदर र बँदेलले बालीनाली नष्ट गर्नुका साथै धनजनको समेत क्षति गर्न थालेको गुनासो गरिरहेका छन् । देशमा मात्र होइन राजधानी र सहरीक्षेत्रमा समेत बाँदर आतङ्क मच्चिएपछि स्थानीयवासीले मेयर र उपमेयर गुहार्न थालेका छन् । कामपाले बाँदर नियन्त्रण गर्ने विषयमा ठोस योजना बनाउने तयारी गरेको छ ।











प्रतिक्रिया