काठमाडौँ ।
देशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको आकस्मिक कक्षमा शैया अभाव हुँदा उपचारका लागि ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको घटनाले सरकारी अस्पतालको आकस्मिक सेवा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रवार उपचारका लागि शिक्षण अस्पताल ल्याइएपछि आकस्मिक कक्षमा तत्काल शैया उपलब्ध हुन नसक्दा एम्बुलेन्समै मृत्यु भएको हो । घटनापछि आफन्तले शैया नपाएकै कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार नियमित डायलिसिस गराइरहेका मिर्गौला रोगी थापालाई अचानक स्ट्रोकको समस्या देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल प्रशासनका अनुसार बिरामीलाई ल्याइएपछि उनका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’ मा पुगेका थिए ।
तर त्यसबेला आकस्मिक कक्षका सबै शैया भरिएका कारण तत्काल बिरामीलाई भर्ना गर्ने अवस्था नभएकाले चिकित्सकले केही समय पर्खेर शैया व्यवस्थापन गरिने जानकारी दिएका थिए । प्रवक्ता सेढाईंले भन्नुभयो– ‘त्यसबेला आकस्मिक कक्षमा एउटा पनि बेड खाली थिएन । चिकित्सकले केही समय दिनुहोस्, बेड व्यवस्थापन गर्छौँ भनेर आग्रह गर्नुभएको थियो । तर बिरामीका आफन्तले उहाँलाई अर्को अस्पताल, केएमसी लैजान्छौँ भन्नुभएको रहेछ ।’
अस्पतालका अनुसार बिरामीलाई एम्बुलेन्समै राखिएको थियो । करिब १० देखि १५ मिनेटको अवधिमा उनको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको र अन्ततः एम्बुलेन्समै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।











प्रतिक्रिया