टौदहमा पानी चुहिएको सम्बन्धमा अध्ययन गरिँदै

0
Shares


– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको टोलीद्वारा अवलोकन
– कर्कोटक महादेवको मन्दिर बन्दै
– चोभारदेखि कटुवाल दहसम्मको योजना बन्दै
– सरकारको असहयोगले संरक्षण गर्न कठिन : समाज

कीर्तिपुर ।

नागपञ्चमीको तयारी भैरहँदा टौदहको पानी बागमती नदीमा चुहिएको विषयमा स्थानीय चिन्तामा छन् । यद्यपि पानी चुहिएको हो वा होइन भन्ने विषयमा अध्ययन भैरहेको छ । करिब दुई साताअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले टौदहको अवलोकन गरेको थियो ।

कर्कोटक नागराज नागरानी बासस्थान टौदह समाज र स्थानीयले नजिकैको बागमती नदीमा पानी चुहिएकोे हुनसक्ने आशङ्का गरेर समितिलाई अवलोकन गर्न आग्रह गरेको थियो । अवलोकनपछि आयोजना निर्देशक महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अध्ययन गरिसकेका छौँ, वर्षात सकिएपछि लिकेज भएको हो कि होइन ? लगायत विषयमा अध्ययन गर्नेछौँ ।’ उहाँका अनुसार समितिले दशैँअघि काम सुरु गर्नेछ ।

समाजका अध्यक्ष राम खड्काले वर्षातमा दह भरिएपछि कहीँ न कहीँ कतैबाट पानी बाहिर जाने भएकाले पानी चुहिएको हो कि होइन भन्ने विषयमा वर्षात सकिएपछि मात्र जानकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा दहमा पानीको समस्या नभएको जानकारी दिँदै भन्नुभयो– ‘सबै राम्रो छ । माछाले अक्सिजन पाएका छन् । पानी निकासको लागि छुट्टै व्यवस्था गरेका छौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टौदहबाहेक चोभारपुलदेखि कटुवालदहसम्मको क्षेत्रमा मापदण्ड निर्धारण गर्ने र सबै क्षेत्रलाई संरक्षण गर्ने भएको छ ।’
समितिले चार दिनअघि टौदह, सिकाली र सैबुसँग सिमाना जोडिएको ललितपुर महानगरपालिका वडा नं १८ र २१ का वडा अध्यक्षद्वय दामोदर खड्का र रवीन्द्र महर्जनका साथै समाजका कोषाध्यक्ष प्रेम कार्की लगायतसँग छलफल गरेको थियो । छलफलको क्रममा बागमती नदीको सीमाकङ्न गरी संरक्षण गर्ने विषयमा छलफल भएको वडा १८ का अध्यक्ष दामोदर खड्काले बताउनुभयो ।

वडा २१ का अध्यक्ष महर्जनले समग्र क्षेत्रको योजना तयार गरी छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । टौदहको प्रसङ्गमा बागमती समितिले आवश्यकताअनुसार तत्काल सुधारका योजना अघि सार्ने बताएको समाजका कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो । समाजले टौदह संरक्षण गर्न समितिको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताउँदै समाजका अध्यक्ष खड्काले भन्नुभयो–

‘ऐतिहासिक टौदह र यसको सिमसार क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व हो । बजेट अभावको कारण संरक्षण गर्न कठिन भैरहेको छ । ढल निकासको समस्या छ । मापदण्ड निर्धारण भएको छैन । स्टिलको रेलिङ कसरी विस्थापित गर्ने ? लगायत विषयमा समाजले विषेश चासो देखाएर कार्ययोजना तयार गरिरहेका छौँ ।’

कीर्तिपुर नगरपालिका–६ भित्र करिब ८९ रोपनी क्षेत्रफलमा फैलिएको टौदहमा समाजले विविध कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय तहको असहयोगको कारण सोचे जति विकास गर्न नसकेको बताउँदै कोषाध्यक्ष कार्कीले भन्नुभयो– ‘बजेट माग्न गयो, छैन भन्छ । कार्ययोजना पेस ग¥यो यो त धनी संस्था हो नि भनेर फर्काउँछ । टौदह सबैको हो, स्थानीय तहले यसको संरक्षण गर्ने मुख्य दायित्व लिनुपथ्र्यो तर भएको छैन ।’

उहाँले नागपञ्चमीको अवसरमा समाजले विशेष कार्यक्रममको आयोजना गर्ने र हजारौँ दर्शनार्थीलाई व्यवस्थित रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । ‘१३ कर्मचारी, २ सुरक्षाकर्मी, नेपाल स्काउट र भुपु सैनिकसङ्गठनका स्वयंसेवक र कार्यसमितिका पदाधिकारीले व्यवस्थित रूपमा दर्शन गर्ने गरी योजना तयार गरिसकेको छ–कोषाध्यक्ष कार्कीले भन्नुभयो । नागपञ्चमीमा नियमित पूजा हुन्छ । कर्कोटक महादेवको पूजाअर्चना हुन्छ । सबै दर्शनार्थीलाई व्यवस्थित दर्शन गर्ने व्यवस्था गरेको समाजले जनाएको छ ।
समाजले चाँडै कर्कोटेश्वर महादेवको मन्दिर बनाउने योजना रहेको अध्यक्ष खड्काको भनाइ थियो । समाजले हाल टौदहमा चर्तुमास पुराण लगाइरहेको छ ।

पोखरीमा कर्कोटक नागको बसोबास रहनुका साथै मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको किंवदन्ती रहेको पाइन्छ । प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यकाका साथै वरपर क्षेत्रबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
पोखरीनजिक स्नानगरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने प्रचलन छ । जनैपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ । देशभरका नाग दहमा आज पूजा गर्न मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन उक्त स्थानमा नागको पूजा गर्न भक्तजनको मेला लाग्ने गर्छ ।

विशाल तालको रूपमा रहेको काठमाडौँ उपत्यकामा बस्ती बसाल्न मञ्जुश्रीले चोभारको डाँडाबाट पानी निकास गराउँदा त्यहाँ रहेका नागराज कर्कोटक नागलाई टौदहमा राखिएको किंवदन्ती छ ।

आन्तरिक पर्यटकको प्रचुर सम्भावना बोकेको त्यस क्षेत्रमा स्थानीय प्रशासन तथा सरकारको ध्यान नपुग्दा पूर्वाधार तथा विकास निर्माणमा पछि परेको समाजको भनाई छ । कर्कोटक तथा उनकी रानीको बासस्थान भएकाले पनि यसलाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गरिरहेको अध्यक्ष खड्काले बताउनुभयो । पोखरी ५ सय मिटर लम्बाइ र ४ सय मिटर चौडाइ छ । यसको गहिराइ सुख्खायाममा ६ मिटर हुन्छ । टौदह क्षेत्रमा ३८ जातका बोटबिरुवा ३६ जातका कीरा र १ सय १६ प्रकारका पंक्षी रहेका छन् ।